काठमाडौँ । नेपाल प्रहरीले हालसम्मको विपद् प्रतिकार्यका लागि देशभर २० हजार ४८५ जनाको जनशक्ति परिचालन गरेको जनाएको छ।
आइतवार बिहान सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक सन्तोषकुमार भट्टराईले विपद् व्यवस्थापन कार्यालय, मातहतका गुल्म र विभिन्न प्रहरी कार्यालयमार्फत यस्तो संख्यामा जनशक्ति सक्रिय गरिएको जानकारी दिए । उनका अनुसार कोशी प्रदेशलगायत प्रभावित क्षेत्रहरूमा अहिले पनि संयुक्त रूपमा प्रहरी परिचालन भइरहेको छ।
शनिवार मात्रै काठमाडौं उपत्यकामा एक सय ३० जना प्रहरी परिचालित गरिएको थियो। १५—१५ जनाका टोलीहरू ¥याफ्टिङ बोटसहित विशेष रूपमा राजधानीमै केन्द्रित भएर काममा खटाइएको भट्टराईले बताए । सातै प्रदेशका प्रदेश प्रहरी गुल्महरूमा पनि हरेकमा १ सय २५ जनाको दरले स्ट्याण्डबाइ टोली तयार रहेको र मौसम प्रतिकूल हुँदा तत्काल परिचालन हुने व्यवस्था मिलाइएको उनको भनाइ छ।
भट्टराईले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई ध्यानमा राखेर पहिल्यैदेखि प्रतिकार्यको तयारी गरिएको उल्लेख गर्दै विपद् प्रभावित क्षेत्रमा खोजतलास, उद्धार र सहयोग कार्यलाई निरन्तरता दिइरहेको जानकारी दिए।
इलाममा गएको पहिरोमा पुरिएका र बेपत्ता भएकाहरूको खोजतलास अझै जारी रहेको उनले बताए ।




प्रतिक्रिया दिनुहोस्