काठमाडौँ । हाल देशका विभिन्न भागहरूमा परिरहेको अविरल वर्षा र त्यसबाट उत्पन्न बाढी, पहिरो तथा डुबानलगायतका मनसुनजन्य विपद्का घटनाप्रति दुःख व्यक्त गर्दै मनसुन प्रतिकार्य कमाण्ड पोष्टले आज बसेको बैठकले राहत तथा उद्धार कार्य तीव्र पार्ने निर्णय गरेको छ।
बैठकले स्थानीय तहसँग समन्वय गरी मृतकका परिवारलाई मापदण्ड अनुसार तत्काल राहत उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ।
त्यस्तै, देशका विभिन्न स्थानमा बाढी, पहिरो आदिबाट प्रभावित जनताको खोज, उद्धार, राहत तथा पुनर्स्थापना कार्यलाई निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ।
विपद्बाट भएको क्षतिको प्रारम्भिक विवरण संकलन गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउन सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।
साथै, प्रभावित परिवारहरूको राहत, स्थानान्तरण र पुनर्स्थापना कार्य शीघ्र सम्पन्न गर्न स्थानीय तह र सरोकारवाला निकायलाई समेत आग्रह गरिएको छ।
अतिभारी वर्षाका कारण उत्पन्न जोखिमका कारण रोकिएका लामो दूरीका सवारी साधन सञ्चालनबारे बैठकले केही निर्णयहरू गरेको छ।
सडक विभागलाई अवरुद्ध सडक तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन निर्देशन दिइएको छ भने अत्यावश्यक सेवा र छोटो दूरीका सवारी साधन आवागमनका लागि स्थानीय प्रशासनबिच समन्वय गर्न भनिएको छ।
जोखिमयुक्त सडकमा अर्को सूचना नआएसम्म रात्रीकालीन बस सेवा सञ्चालन नगर्न पनि निर्देशन दिइएको छ।
त्यस्तै, अवरुद्ध खानेपानी, विद्युत् र सञ्चार सेवाहरू यथाशीघ्र पुनः सञ्चालन गर्न सम्बन्धित निकायहरू — खानेपानी सेवा प्रदायक संस्था, नेपाल विद्युत प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणलाई पनि पत्राचार गर्ने निर्णय बैठकले गरेको छ।
बैठकले विपद् व्यवस्थापनका क्रममा खटिएका जनप्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय प्रशासन, स्वयंसेवक, सञ्चारकर्मी, निजी क्षेत्र तथा गैरसरकारी संस्थाहरूलाई धन्यवाद ज्ञापन गरेको छ।


 
                            

                    
प्रतिक्रिया दिनुहोस्