काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग, नेपालले आज निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ। आयोगले समयबद्ध रूपमा सम्पूर्ण तयारी अघि बढाउने उद्देश्यसहित कार्यतालिका सार्वजनिक गरेको हो।
आयोगका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने कार्यक्रम तय गरिएको छ।
यस अवधिमा आयोगमा दर्ता कायम रहेका दलहरूले मात्र निर्वाचन प्रयोजनका लागि दर्ता गर्न पाउने व्यवस्था गरिएको छ। आयोगले निर्वाचनमा भाग लिन इच्छुक सरोकारवालाले मंसिर ३० गते भित्र राजनीतिक दल दर्ता प्रमाणपत्र लिइसक्नुपर्ने जनाएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ। त्यस्तै समानुपातिक प्रणालीका लागि मंसिर १५ गते कार्यालय स्थापना हुने र पौष १८ र १९ गते बन्दसूची पेश गर्ने कार्यक्रम रहेको छ।
आयोगले फागुन ३ गतेदेखि १८ गतेसम्म प्रचारप्रसारको समय तोकेको छ। सो अवधिपछि प्रचार निषेध लागू हुनेछ। मतदान भने फागुन २१ गते विहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गरिनेछ।
आयोगले निर्वाचन तयारी र कार्यान्वयनमा राजनीतिक दल तथा सरोकारवालासँग निरन्तर परामर्श र समन्वय गर्दै अघि बढ्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्