जेन-जीको नेतृत्वमा भएको आन्दोलनपछि गृह मन्त्रालयको आग्रह : शान्ति र संवादमार्फत अघि बढौं


काठमाडौँ । जेनजी पुस्ताको नेतृत्वमा भएको हालको प्रदर्शनपछि मुलुकमा उत्पन्न नयाँ परिस्थितिप्रति सरकार गम्भीर रहेको जनाएको छ।

गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै नयाँ सरकार गठनसँगै स्थिति नियन्त्रणमा लिई देशभर शान्ति सुरक्षा कायम गर्न सरकार सक्रिय रूपमा जुटिरहेको जनाएको हो।

मन्त्रालयका अनुसार आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षको सहकार्य आवश्यक छ।

विज्ञप्तिमा भनिएको छ, “देशमा शान्ति, सुव्यवस्था र अमनचयन कायम राख्दै निर्वाचनलाई सफल बनाउन सबै नागरिकले आफ्ना आवाज, अपेक्षा र असन्तुष्टिहरू शान्तिपूर्वक राख्नुपर्छ।”

मन्त्रालयले धर्ना, जुलुसलगायतका विरोध कार्यक्रमहरूलाई सभ्य, मर्यादित र शान्तिपूर्ण ढंगले सञ्चालन गर्न आग्रह गरेको छ। साथै, नागरिकका चासो, सरोकार र मागहरूलाई वार्ता र छलफलमार्फत समाधान गर्न सरकार सधैं सकारात्मक रहेको स्पष्ट गरेको छ।

“धर्ना र आन्दोलन गर्नु अगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान खोज्नेतर्फ अग्रसर हुन सबैमा हार्दिक अनुरोध गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।