स्याङ्जाको भीरकोटमा धारिलो हतियार प्रहारबाट लुईटेल घाइते, आरोपी पक्राउ


स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका–१ प्रगतीटोलमा धारिलो हतियार प्रयोग गरी एक व्यक्तिमाथि आक्रमण गर्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार भदौ २२ गते बिहान करिब २ः३० बजेको समयमा वालिङ नगरपालिका–१४ बस्ने ३४ वर्षीय सुवर्ण लुईटेलमाथि धारिलो हतियार प्रयोग गरी टाउको, घाटी लगायतका संवेदनशील अंगमा प्रहार गरी घाइते बनाइएको थियो।

घटनाको जानकारी पाएपछि वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुमबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएको थियो। अनुसन्धानका क्रममा पीडितको किटानी जाहेरीका आधारमा घटनामा संलग्न भनी पहिचान गरिएका भीरकोट नगरपालिका–२ बयरघारीका २९ वर्षीय अनिल गुरुङलाई प्रहरीले सोही स्थानबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका गुरुङमाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ। हाल घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।