काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिद्वारा आज गरिएको नियमित कीटनाशक अवशेष परीक्षणमा बजारमा बिक्री वितरणका लागि आएका केही तरकारीहरूमा हानिकारक विषादीको मात्रा उच्च भेटिएको छ ।
समितिको प्रयोगशालाबाट गरिएको परीक्षण अनुसार धादिङ, मकवानपुर, दोलखा, नुवाकोट, भक्तपुर र सर्लाहीबाट कालिमाटीमा भित्रिएका विभिन्न १५ वटा तरकारीका नमुनामध्ये तीनवटा नमुना उपभोगका लागि अयोग्य ठहरिएका छन् ।
परीक्षणको क्रममा मकवानपुरका चक्रविर तामाङको हरियो फर्सीमा अर्गानोफस्फेट समूहको ४५.५९८ भाग भेटिएको छ, जुन उपभोगका लागि अयोग्य घोषित गरिएको हो । त्यस्तै धादिङका राजेन्द्र प्रसाद कानुको घिरौलामा अर्गानोफस्फेटको मात्रा ६५.०३० र काठमाडौँमा विक्रीका लागि ल्याइएको काक्रोमा ५२.९२१ पाइएको छ । यी दुवै नमुना उपभोगका लागि अयोग्य ठहर गर्दै समितिले बजारमा वितरण रोक्ने निर्णय गरेको छ ।
यसैबिच अन्य १२ वटा नमुनाहरू भने निर्धारित मापदण्डभन्दा कम स्तरको विषादी अवशेष मात्र भेटिएकोले उपभोग योग्य रहेको समितिले जनाएको छ । समितिको अनुसार तिते करेला, काउली, बन्दा, गोलभेंडा, परवल, खुर्सानीलगायतका अन्य नमुनामा कार्वामेट र अर्गानोफस्फेटको मात्रा न्यून रहेको पाइएको हो ।
बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी जाँच गर्दा रोकावट प्रतिशत ३५ भन्दा कम उपभोगयोग्य, ३५ देखि ४५ सम्म केही दिन राखेर खान मिल्ने र ४५ भन्दा बढी खान अयोग्य मानिन्छ ।



प्रतिक्रिया दिनुहोस्