स्याङ्जामा सुनका गरगहना चोरी प्रकरणः पोखराबाट एक महिला पक्राउ, गरगहना बरामद


काठमाडाैँ । स्याङ्जा प्रहरीले सुनका गरगहना चोरीको आरोपमा एक महिलालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार फेदीखोला गाउँपालिका–५ बागेकी उषा शर्माको घरबाट करिब ३ तोला १० रत्ती बराबरका सुनका गरगहना चोरी भएको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो।

प्रहरीका अनुसार भदाै १८ गते बेलुकी करिब ६ बजे उषा शर्माको घरमा चोरी भएको भन्ने जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले खोजतलास सुरू गरेको थियो। अनुसन्धानको क्रममा भदाैँ २१ गते स्याङ्जा पुतलीबजार नगरपालिका–१ शहीदचोकमा एक महिलालाई शंकास्पद अवस्थामा फेला पारिएको र सोधपुछ गर्दा उनले चोरीमा संलग्न भएको स्वीकार गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेकी महिला स्याङ्जा फेदीखोला गाउँपालिका–३ घर भई हाल कास्की पोखरा महानगरपालिका–१७ बिरौटा बस्ने २८ वर्षीया प्रतिमा सुवेदी भएको प्रहरीले पुष्टि गरेको छ। प्रहरीले उनको बयानका आधारमा पोखरामा लुकाइ राखिएको चोरीको गरगहना बरामद गरेको जनाएको छ।

बरामद गरिएका सामानमा करिब ३ तोलाको सुनको सिक्री र अन्दाजी १ तोलाको सुनको औंठी रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकी सुवेदीलाई चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत स्याङ्जाबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।