असोज १७–१९ को वर्षा प्रभावबारे तथ्याङ्क सङ्कलन गर्दै कृषि मन्त्रालय, सहसचिवको संयोजकत्वमा समिति गठन


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालै असोज १७ देखि १९ गतेसम्म परेको वर्षाले देशभरको कृषि क्षेत्रमा पारेको प्रभावका सम्बन्धमा विस्तृत तथ्याङ्क सङ्कलन सुरू गरेको छ।

मन्त्रालयका अनुसार सातै प्रदेशबाट वर्षाका कारण भएका कृषिजन्य क्षतिहरूको विवरण सङ्कलन गरी त्यसको आधारमा नीतिगत र व्यावहारिक कदम अघि बढाउने तयारी भइरहेको छ।

यसका लागि मन्त्रालयले सहसचिवको संयोजकत्वमा एक समिति गठन गरेको छ, जसले सम्बन्धित प्रदेश र स्थानीय तहहरूबाट विवरण संकलन गरी विस्तृत प्रतिवेदन तयार गर्नेछ। उक्त प्रतिवेदनका आधारमा किसानकाे क्षतिपूर्तिका सम्भावना, आवश्यक पुनःस्थापना कार्य, र आगामी समयमा यस्ता प्राकृतिक प्रभावहरू न्यूनीकरणका उपाय तय गरिने बताइएको छ।

मन्त्रालयकी सहसचिव एवम् प्रवक्ता डा. जानुका पण्डितका अनुसार समितिले वर्षाको प्रभावका कारण बाली, पशुपालन र कृषि पूर्वाधारमा भएको क्षतिको पूर्ण विवरण सङ्कलन गरी छोटो समयमै प्रतिवेदन बुझाउनेछ। उनले मन्त्रालयले प्राप्त प्रतिवेदनका आधारमा आवश्यक नीति तथा कार्ययोजना तयार पार्ने र सोही बमोजिम अघि बढ्ने जानकारी दिएकी छन्।