काठमाडौँ । नेपाल पुनर्बिमा कम्पनीले जेनजी आन्दोलनका क्रममा पुगेको सम्पत्ति क्षतिको बिमाबापत निर्जीवन बीमा कम्पनीहरूलाई भुक्तानी प्रकृया सुरु गरेको छ ।
बिमा दाबी दर्ता गराएका निर्जीवन बिमा कम्पनीहरूको मागका आधारमा प्रारम्भिक भुक्तानी सुरु गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले बिहीबारदेखि भुक्तानी प्रकृया सुरु गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिइओ) सुरेन्द्र थापाले भने,“ हामीले दाबी भुक्तानीको प्रकृया सुरु गरेका छौँ । तिहार अगाडि नै एक चरणको भुक्तानी हुन्छ ।”
जेनजी आन्दोलनका क्रममा भएको क्षतिको बिमा कम्पनीहरूमा २३ अर्ब भन्दा बढीको दाबी परेको छ । यसको ६५ प्रतिशत दायितव पुनर्बिमा कम्पनीमा पर्छ ।
जेनजी आन्दोलनका क्रममा भएको क्षतिको सबैभार नेपाल पुनर्बिमा कम्पनीमा परेको छ । सिइओ थापाले ३ देखि ४ अर्ब रुपैयाँसम्म भुक्तानी गर्ने तयारी रहेको बताए ।
उनले भने,“ मुलुक सङ्कटमा परेका बेला हामीले पनि दाबी भुक्तानीलाई छिटो टुङ्ग्याउने गरि लागिरहेका छौँ । प्रकृया पुरा भएको अवस्थामा तिहार अगाडि ३ देखि ४ अर्बसम्म भुक्तानी गर्ने लक्ष्य हो ।”
नेपाल सरकारले निजी क्षेत्रका लागि सहुलियतको घोषणा गर्दै बिमा कम्तीमा ५० प्रतिशत अग्रिम भुक्तानी गराउने व्यवस्था मिलाउने निर्णय गरेको थियो । नेपाल पुनर्बिमा कम्पनीलाई १२ अर्ब रुपैयाँभन्दा बढीको दायित्व पर्ने देखिएको छ ।
सरकारको निर्णयलाई सकेसम्म कार्यान्वयन गर्ने गरी कम्पनीले काम गर्ने सिइओ थापाले जानकारी दिए ।
उनले भने,“ सरकारले गरेको निर्णयलाई हामीले प्रभावकारी बनाउने प्रयासमा छौँ । केही कानुनी प्रकृयागत जटिलता हुनसक्छन् तर कसरी मिलाउने हामी हेर्छौँ ।”
प्रतिक्रिया दिनुहोस्