काठमाडौँ । नेपाली सेनाले हालको संवेदनशील परिस्थितिमा आफ्नो संस्था र नेतृत्वलाई जोडेर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा विभिन्न टिप्पणीहरू प्रवाह भइरहेकोप्रति ध्यानाकर्षण जनाएको छ।
सेनाले यस्ता विषयमा यथार्थ जानकारी लिन आधिकारिक माध्यममार्फत मात्र जानकारी प्राप्त गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
नेपाली सेनाले शुक्रबार जङ्गी अड्डाबाट जारी गरेको प्रेस नोटमा गत भाद्र २३ र २४ गतेका विषम परिस्थितिलाई सामान्य बनाउन सेनाले पुर्याएको भूमिकाप्रति विद्वान, समाजसेवी, सञ्चारकर्मी तथा आम नागरिकबाट प्राप्त राय, सुझाव र समालोचनात्मक अभिव्यक्तिप्रति आभार व्यक्त गरेको छ।
सेनाले आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढंगले मूल्याङ्कन गरी, शान्ति–सुरक्षा कायम गर्ने उद्देश्यका साथ आवश्यकता अनुसार कदम उठाएको स्पष्ट गरेको छ।
त्यस्तै, विभिन्न माध्यम र सामाजिक सञ्जालमार्फत संस्थासँग सम्बन्धित भ्रम वा अपुष्ट समाचारहरू सम्प्रेषण भइरहेको भन्दै सेनाले आफ्ना धारणा र गतिविधि नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिँदै आएको जनाएको छ।
“सेना सम्बन्धी यथार्थ सूचना जनसम्पर्क तथा सूचना निर्देशनालयमार्फत मात्र प्राप्त गर्न र सोही आधारमा जानकारी सम्प्रेषण गर्न सबैमा अनुरोध गर्दछौं,” प्रेस नोटमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्