जेनजी आन्दोलनका सहिद परिवारलाई गोल्यान ग्रुपले १२ कक्षासम्म निःशुल्क शिक्षाको प्रबन्ध गर्ने


काठमाडौं । जेनजी आन्दोलनका सहिद परिवारलाई गोल्यान ग्रुपले १२ कक्षासम्म निःशुल्क शिक्षाको प्रबन्ध गर्ने भएको छ । सहिदका दाजुभाइ–दिदीबहिनी र सन्तानको अध्ययन तथा उज्ज्वल भविष्यको लागि १२ कक्षासम्म शिक्षाको छात्रवृत्ति कार्यक्रममा सामेल गराइ बालबालिकाको रुची र क्षमताअनुसार निःशुल्क शिक्षाका प्रबन्ध गर्ने बताएको छ ।

गोल्यान ग्रुपले एक विज्ञप्ती जारी गर्दै उनीहरूको साहसको सम्मान र प्रभावित परिवारप्रति सहानुभूति प्रकट गर्दै सहिद परिवारहरुमा समर्पित सहयोग कार्यक्रम घोषणा गरेको हो ।

त्यस्तै, गोल्यान ग्रुपले सहिदका आमा–बुबाका लागि स्वास्थ्य बीमामार्फत दीर्घकालीन स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने घोषणा गरेको छ । ग्रुपले कुनै परोपकार मात्र नभइ साझा जिम्मेवारी र सहानुभूति सहितको प्रतिबद्धताका रुपमा लिएको जनाएको छ । परिवर्तनका लागि उभिएका ती युवाहरू एक्ला थिएनन् र उनका परिवारहरू पनि अब एक्ला रहने छैनन् भन्ने बलियो सन्देश दिन चाहेको ग्रुपको भनाइ छ ।

ग्रुपले प्रत्येक प्रभावित परिवारको गोपनियता र मर्यादालाई प्राथमिकता राख्दै कुनै पनि नाम वा तस्बिर सार्वजनिक नगर्ने बताएको छ । सबै सहिद परिवारसँग सम्पर्क गरी उनीहरुलाई सहयोग कार्यक्रममा जोडिरहेको जानकारी दिएको छ ।