काठमाडाैँ । असोज १७ देखि २० गतेसम्मको अविरल वर्षापछि आएको बाढी,पहिरो तथा विपद्ले कृषि क्षेत्रमा व्यापक क्षति पुगेको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले क्षतिको विस्तृत विवरण संकलन गर्न प्रदेशहरूलाई परिपत्र गरे पनि एक हप्ता बितिसक्दा समेत विवरण प्राप्त नभएको जनाएको छ । मन्त्रालयले बालीनाली, पशुपंक्षी, कृषि पूर्वाधार, भवन र कृषियोग्य जमिनको क्षति लगायत क्षेत्रको विवरण माग गरेको छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. जानुका पण्डितले मन्त्रालयमा बसेको बैठकले क्षति विवरण संकलन गर्ने निर्णय गरेको र सातवटै प्रदेशलाई परिपत्र गरी फारम पठाइएको बताइन् । उनकाअनुसार मन्त्रालयले बिमा गरेको र नगरेको क्षतिको विवरण छुट्टाछुट्टै माग गरेको छ ।
प्रदेश सरकारले समेत सम्बन्धित जिल्लाको कृषि ज्ञान केन्द्रबाट विवरण संकलन गर्ने भएकोले दोहोरोपन नदेखिने गरी विवरण माग गरिएको उनले बताइन् । संघीय स्तरबाट तल्लो तहको बीमा स्थिति छुट्याउन कठिन भएकाले प्रदेशबाटै छुट्टयाएर पठाउन निर्देशन दिइएको उनले जानकारी दिइन् । यदि बीमा गरे नगरेको वर्गीकरण नगरिकन क्षतिको विवरण पठाए फेरि निर्देशन दिइने उाको भनाइ छ ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले भनिन्, “बीमा गरेको र नगरेको विषयमा छुट्याएर क्षतिको विवरण पठाउन भनेर परिपत्र गरेका छौं । हामीले संघबाट बसेर तल्लो तहको विवरण बीमा गरेको नगरेको छुट्याउन सकिँदैन । त्यहीभएर प्रदेशबाट छुट्याएर दिन्छन् भन्नेमा ढुक्क छौं । त्यस्तो भएन भने फेरि छुट्याएर पठाउन निर्देशन दिन्छौं ।”
प्रवक्ता पण्डितले प्रदेशहरूले आफ्ना कृषि ज्ञान केन्द्रमार्फत विवरण संकलन गर्ने बताइन् । विपद्बाट भएको क्षतिको विवरण संकलनमा समस्या आउनसक्ने भन्दै मन्त्रालयले नै फम्र्याट बनाएर पठाएको उनकाे भनाइ छ ।
उनले कृषि ज्ञान केन्द्रहरुले प्रत्येक पालिकामा कति घरधुरीमा क्षति पुग्यो के केमा क्षति पुग्यो भन्ने कोणबाट विवरण संकलन गरेर पठाउने उल्लेख गरिन् । क्षति भएको घरको विवरणसहित नै पठाउँदा क्षतिको मूल्याङ्कन गर्न सजिलो हुने उनको विश्वास छ । विवरण संकलन गर्दा कोही नछुटोस्,कोही नदोहोरियोस् भन्नेबारे सचेत रहन निर्देशन दिइएको उनकाे भनाइ छ ।
उनले भनिन्, “प्रदेशहरुले आफ्नो आफ्नो कृषि ज्ञान केन्द्रबाट विवरण माग्ने हो । ज्ञान केन्द्रहरुले यो पालिकामा यति घरधुरीमा क्षति पुग्यो भन्ने कोणबाट विवरण संकलन गरेर पठाउन सक्नुहुन्छ । सम्भवतः उहाँहरुले क्षति भएको घरको विवरणसहित नै पठाउनुहुन्छ भन्ने विश्वास छ । हामीले परिपत्र गरेको एक हप्ता भइसक्दा समेत अहिलेसम्म विवरण भने पठाइसक्नु भएको छैन । अबको केहिदिनमा आउछ ।”
कृषि मन्त्रालयले क्षतीको अवस्थाबारे अध्ययन गरी प्रतिवेदन बनाउन सहसचिवको संयोजकत्वमा संयन्त्र गठन गरेको छ । संयन्त्रले प्राप्त क्षतिको विवरणको अध्ययन गरी राहत सहयोगको सुझावसहित सरकारलाई प्रतिवेदन दिने प्रवक्ता पण्डितले बताइन् ।
प्रतिक्रिया दिनुहोस्