जाजरकोटको भेरी नगरपालिकाका तत्कालीन अधिकृतसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकामा सडक निर्माण ठेक्कासम्बन्धी अनियमितता तथा मिलेमतो गरी गैरकानूनी लाभ लिएको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित सात जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार भेरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खलंगाले ठेक्का नं. BM/NCB/Works-03-2080/081 अन्तर्गत “कारागार–रानागाउँ–नेटीबजार सडक” निर्माणका क्रममा सार्वजनिक खरिद प्रक्रियामा हेरफेर गरी एक निश्चित निर्माण कम्पनी ‘थापा/सविन/सुदर्शन जेभी’लाई ठेक्का दिलाउन मिलेमतो गरिएको पाइएको हो। सो ठेक्का दुई करोड ८० लाख रुपैयाँ बराबरको लागत अनुमानमा स्वीकृत गरिएको थियो।

सार्वजनिक खरिद नियमावली २०६४ विपरीत निर्माणस्थल भ्रमणलाई अनिवार्य शर्तका रूपमा राखी लक्षित बोलपत्रदाताबाहेकका अन्य कम्पनीहरूलाई प्रतिस्पर्धाबाट बाहिर राखिएको र खरिद इकाइ प्रमुख इन्जिनियर मोहन मल्लसहितको मिलेमतोमा ठेक्का प्रक्रिया अघि बढाइएको अनुसन्धानमा खुलेको अख्तियारले जनाएको छ।

आयोगका अनुसार बोलपत्र मूल्याङ्कनका क्रममा अनावश्यक अटहरू राखी छ वटा बोलपत्रदातालाई प्राविधिक मूल्याङ्कनमै अस्वीकृत गरिएको थियो। यसरी नियोजित रूपमा प्रतिस्पर्धा घटाई लक्षित कम्पनीलाई ठेक्का सुम्पिएको आयोगको दाबी छ। साथै, सार्वजनिक खरिद ऐन, २०६३ को दफा १४ विपरीत राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशित नगरी केवल EGP पोर्टलमा मात्र बोलपत्र आह्वान गरिएको, जसले प्रतिस्पर्धालाई संकुचित गरेको आयोगको भनाइ छ।

प्राविधिक प्रस्तावमा सफल बोलपत्रदाताको कबोल अंक र न्यून कबोल गर्ने बोलपत्रदाताबिच करिब ८१ लाख ५३ हजार रुपैयाँको अन्तर राखी ठेक्का सिफारिस गरिएको पाइएको छ। यसरी गैरकानूनी लाभ उठाउँदै नेपाल सरकार, प्रदेश सरकार र भेरी नगरपालिकालाई हानि पुर्‍याइएको ठहरसहित आयोगले मुद्दा दायर गरेको हो।

आरोपपत्रमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इन्जिनियर मोहन मल्लसहित सात जना व्यक्तिको संलग्नता रहेको उल्लेख गरिएको छ। उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन अन्तर्गत कानूनी कारबाहीको मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमारले जनाएका छन्।