अब कसरी बनाउने लगानीको वातावरण ?


काठमाडौँ । गत भदौको अन्त्यतिर भएको जेन-जी आन्दोलनपछि मुलुकमा अस्थिरताको खतरा बढेको छ ।

जेन-जी विद्रोहपछि प्रतिनिधि सभा विघटन, काँग्रेस–एमाले नेतृत्वको सरकार अपदस्त हुँदै पूर्वप्रधानन्यायधिश सुशीला कार्कीको नेतृत्वको अन्तरिम सरकार मुलुकमा बनेको छ । तर काँग्रेस–एमाले अझैपनि चुनावका लागि तयार छैनन् र अहिलेको सरकार सिमित दायरामा रहनुपर्ने बाध्यता, जेन-जीहरूको आकाङ्क्षा बढ्दै जाँदा मुलुकमा अस्थिरता बढ्ने खतरा बलियो बन्दै गएको जानकारहरूले बताएका छन् ।

जेन-जी आन्दोलनपछि विकासित परिस्थीतिलाई नजिकबाट हेरेका विज्ञसँगै निजी क्षेत्रका प्रतिनिधिले मुलुकमा पछिल्लो समय अस्थीरता देखिएको र असुरक्षा बढ्दा लगानीको वातावरणमा बिगार्नुको साथै पुँजी पलायनको समेत खतरा रहेको उनीहरूले बताए ।

उनीहरुकाअनुसार जेनजीले निजी क्षेत्रका सम्पत्तिमाथि आक्रमण गर्दा लगानीकर्तामा त्रास बढेको छ र तत्काल थप लगानी आउन छैन् । देश द्वन्द्वतर्फ अघि बढे पुँजी पलायनको समेत खतरा रहेको विज्ञको भनाइ छ ।

अर्थविद् चन्द्रमणी अधिकारीले जेनजी आन्दोलनपछि मुलुकमा शान्ति सुरक्षा अमनचैन नरहेको बताए । यस्तो अवस्थामा स्वदेशी, विदेशी लगानी थप बढ्ने सम्भावना नरहेको उनको भनाई छ । अधिकारीले भने,“ जेनजी आन्दोलनपछि देशमा अमनचैन छैन । त्यसले गर्दा मुलुकमा लगानी थप बढ्नसक्ने सम्भावना छैन । स्वदेशी विदेशी लगानी आउने सम्भावना छैन ।”

शान्ति सुरक्षाकै कारण पर्यटकको सङ्ख्यामा कमी देखिन थालेको र होटलहरूमा आहिले बुकिङ रद्ध हुनु सकारात्मक नभएको अर्थविद् अधिकारीको टिप्पणी छ । उनले भने,“पर्यटक आउने क्रम घटेर गएको छ ।

भएका होटलहरूको बुकिङ पनि रद्द भएका छन् । निकासी घटेर जान्छ । अहिले भएको निकासी स्वाविन र भटमास तेल दिगो होइन । भारत सरकारको एउटा निर्णयले त्यो निकासी ठप्प हुनसक्छ ।

विदेश जानेले नेपालमा पैसा पठाउने सन्दर्भमा पनि नेपालमा शान्ती सुरक्षा राम्रो भएन, अनिश्चितता बढ्दै गए उनीहरुले आफ्नो परिवारका लागि पनि ढिलो पैसा पठाउन सक्छन् ।” राज्य संयम भएर अघि बढ्नुपर्ने बेला आएको उनकाे भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले अब सघर्ष गर्नुभन्दा पनि जेनजी युवाहरूहाम्रै देशका हुन भनेर सबै पार्टी र अहिले बनेको सरकारले स्वीकारेर नयाँ परिवेशमा देशलाई लैजानसके मात्रै मुलुकमा लगानीको वातावरण बन्नसक्ने बताए ।

उपाध्यक्ष ढकालले शिक्षा, स्वास्थ्य, रोजगार, सुशासनको एजेन्डा लिएर जेन-जीले आन्दोलन गरेको र उनीहरूको माग बमोजिम अघि बढ्दै मुलुकमा शान्ति सुरक्षा अमनचैन हुनुपर्नेमा जोड दिए ।

उनले भने,“ युवाहरूलाई रोजगार दिने, आफ्ना सेवा सुविधा सहज रुपमा जनताले पाउने गरी व्यवस्थापन गर्ने, भ्रष्टाचारको कमी, सरकारी संयन्त्रबाट दिने सेवा जुन छ्, सर्वसुलभ हुनुपर्छ । जनताले बिनारोकतोक उपयोग गर्न पाउनुपर्छ । बिना झमेला सेवा पाउनुप¥यो । अहिले बनेको अन्तरीम सरकारले त्यसैमा काम गर्नुपर्‍यो।”

नेपाल होटल संघ (हान) का अध्यक्ष विनायक शाह जेन-जी पुस्ताले मुलुकमा परिवर्तनसँगै सुशासन, विकास खोजेकाले सोहीअनुसार काम हुनुपर्ने बताए । दैनिक दुई हजारदेखि २५ सय युवायुवतीहरू भविष्य खोज्दै विदेश जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै देशभित्र सम्भावनाको बाटो नदेखेर उनीहरू विदेश जानु राम्रो नभएको अध्यक्ष शाह टिप्पणी गर्छन् ।

उनी भन्छन्, “दैनिक दुई हजारदेखि २५ सय भाईबहिनीहरू भविष्य खोज्दै विदेश जानुभएको छ । यो राम्रो हुँदैहोइन । अब परिवर्तन जरुरी छ । नीति नियम, पूर्वाधारका कुराहरूमा आमूल परिर्वतन हुन जरुरी छ । त्यो काम गर्नलाई अन्तरिम सरकार पनि आइसकेको छ । जुन नेतृत्व दियो जेन-जी पुस्ताले परिवर्तनको जुन एजेण्डा छ त्यो परिपूर्ति गर्न सरकार अघि बढ्नुपर्छ ।”

अध्यक्ष शाहका अनुसार ३५–४० लाख पर्यटकलाई सेवा दिने क्षमता होटलहरुको छ तर नेपालमा अहिले १२ लाख मात्रै पर्यटक आइरहेका छन् ।

अहिले काठमाडौं एयरपोर्टले मात्रै १२ लाख पर्यटक धानिरहेको छ । भैरहवा, पोखराको एयरपोर्टलाई प्रयोगमा ल्याएर थप पर्यटकसँगै आर्थिक गतिविधि चलायमान बनाउन सरकार लाग्नुपर्ने उहाँको भनाई छ । –न्युज एजेन्सी नेपाल