विदेशी विनिमय सञ्चिती २८ खर्ब ८१ अर्ब रूपैयाँ


काठमाडौँ । २०८२ भदौ मसान्तमा नेपालको कुल विदेशी विनिमय सञ्चिती २८ खर्ब ८१ अर्ब ३५ करोड रूपैयाँ पुगेको छ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रूपैयाँ बराबर नेपालको कुल विदेशी विनिमय सञ्चिति रहेको थियो । यो अवधिमा नेपालको सञ्चिती ७.६ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ भदौ मसान्तमा ४.७ प्रतिशतले वृद्धि भई २० अर्ब ४१ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ भदौ मसान्तमा २५ खर्ब ८२ अर्ब ३८ करोड रूपैयाँ पुगेको छ । २०८२ असार मसान्तमा यो सञ्चिती २४ खर्ब १४ अर्ब ६४ करोड रूपैयाँ रहेको थियो । यो अवधिमा ६.९ प्रतिशतले वृद्धि भएको हो ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रूपैयाँ रहेकोमा २०८२ भदौ मसान्तमा १३.७ प्रतिशतले वद्धि भई २ खर्ब ९८ अर्ब ९७ करोड रूपैयाँ कायम भएको छ ।

२०८२ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८२÷८३ को दोस्रो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.७ महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

२०८२ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४७.२ प्रतिशत, १३३.१ प्रतिशत र ३६.६ प्रतिशत रहेका छन्