नयाँ दल दर्ता गर्न बुझ्न आउनेको सङ्ख्या बढ्योः चुनावका लागि कात्तिक ३० सम्म दर्ताको स्वीकृति लिइसक्नुपर्ने


काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचनमा भाग लिनको लागि नयाँ दल दर्ता गर्न चासो राख्नेहरू बढेका छन् ।

निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि बुझ्न आउने व्यक्ति धेरै भएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

यद्यपि नयाँ दल दर्ताको लागि भने तीन वटा मात्रै फाईल प्राप्त भएको उनले जानकारी दिए । नयाँ दल दर्ता गर्न निवेदन दिएकाहरूको कागजात बुझ्ने काम भइरहेको उनको भनाई छ ।

उनले कागजपत्र बुझ्ने र नपुगेका थप कागज माग्ने प्रक्रियामा रहेको बताए ।

प्रवक्ता भट्टराईकाअनुसार मौजुदा कानूनअनुसार नयाँ दल दर्ताको काम सबै महिना खुला रहन्छ । तर फागुन २१ गते हुने निर्वाचनमा भाग लिनको लागि कात्तिक मसान्तसम्म नयाँ दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ ।

निर्वाचनमा भाग लिने राजनितिक दलले मङ्सिर १ देखि १० गतेको बिचमा निर्वाचन प्रायोजनको लागि दल दर्ता गर्नुपर्ने आयोगले व्यवस्था गरेको छ ।

कात्तिक ३० गतेसम्म दल दर्ताको स्वीकृति प्राप्त गरेका नयाँ राजनितिक दलले मात्रै निर्वाचनमा भाग लिन पाउनेछन् । १२२ दल पहिले नै दर्ता भइसकेका छन् ।

उनले भने,“अहिले मौजुदा कानूनअनुसार नयाँ दल दर्ताको काम सबै महिना खुला रहन्छ । त्यहीअनुसार अहिले निर्वाचनमा भाग लिन चाहने पार्टीहरूले मङ्सिर १ देखि १० गतेको बिचमा निर्वाचन प्रायोजनको लागि दल दर्ता गर्नुपर्ने हुन्छ ।”– न्युज एजेन्सी नेपाल