काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले संसद पुनःस्थापनाको बाटोमा लाग्नु नहुने बताएका छन्।
निर्वाचन आयोगले बिहीबार दलहरूसँग आयोजना गरेको छलफलमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले हालको राजनीतिक अवस्थाले संसद पुनःस्थापनाको विकल्पलाई अस्वीकार गरेको बताए।
उनका अनुसार जेन–जी आन्दोलनले दिएको जनादेशलाई कुल्चेर पुनः संसद पुनःस्थापनाको बाटोमा लाग्नु राजनीतिक रूपमा गलत सन्देश हुने उनले बताए।
श्रेष्ठले भने, “खासगरी अहिलेको यो सरकार संविधानसम्मत ढंगले बनेको होइन, तर आवश्यकताको सिद्धान्तअनुसार जेन–जी आन्दोलनको जनादेशलाई सम्बोधन गर्नका लागि प्रमुख दलहरूको सहमतिमा बनेको सरकार हो। स्वयं प्रधानमन्त्री पनि सहमतिमा बनेको र निर्वाचनको मिति पनि सहमतिमा नै घोषणा भएको हुँदा अब यसमा दुविधा पाल्नुपर्ने कुनै आवश्यकता छैन।”
उनले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबै दल र पक्षहरू लाग्नुपर्नेमा जोड दिए। उनले भने, “अहिले जुन आन्दोलनको जनादेश छ, त्यसलाई कुल्चिएर पुनःस्थापनाको बाटोमा लाग्नु हुँदैन। घोषित निर्वाचन सफलताका साथ सम्पन्न गर्नुपर्छ।”
श्रेष्ठले राष्ट्रिय सभामा रिक्त हुन लागेको सदस्य पदलाई समयमै पूरा गर्नुपर्ने आवश्यकता पनि औंल्याए। उनका अनुसार निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन पनि निर्धारित समयमा सम्पन्न गर्न तयारी गर्नुपर्नेछ।
प्रतिक्रिया दिनुहोस्