‘एकै ठाउँमा ५० थरिका गोदावरी फूलः पाइन्छन् पचास हजारसम्मका बिरुवा’


काठमाडाैँ । जावलाखेल फुटबल मैदानमा जारी फ्लोरिकल्चर एशोसिएशन नेपालको गोदावरी फूल प्रदर्शनीमा ५० प्रकारका गोदावरी फूलहरु रहेको व्यवसायीहरुले बताएका छन् ।

१८ औं संस्करणको उक्त मेलामा गोदावरी र अन्य प्रजातिका गरी ४ सय ५० फूलहरु उपलब्ध रहेको आयोजकले जनाएको हो । गोदावरी फूलको विशेष प्रदर्शनी रहे पनि अन्य प्रजातिका फूलहरु पनि तिहार र छठ विशेषका लागि राखिएको व्यवसायीहरुको भनाइ छ ।

फूल व्यवसायी कुमार बस्नेतले आफूसँग चालिसदेखि पचास प्रजातिका गोदावरी फूलहरु उपलब्ध रहेको बताए । उनले गत वर्ष प्रदर्शनीबाट पाँच लाख भन्दा बढी कारोबार गरेको जानकारी दिए । यस वर्ष पनि कारोबार राम्रो हुनेमा आफू आशावादी रहेको उनको भनाइ छ ।  

उनले भने, “अब हामीसँग अहिले यो विशेष त गोदावरी फूलको मेला भएका कारणले अहिले चालिस देखि पचास वटा भेराइटिका गोदावरी उपलब्ध छन् । पोहोर साल अलिकति ढिला थियो र फुलहरू अलि फुलेको थियो । लगभग ५-६ लाखको कारोवार थियो भने यसपाली कम फूल फूलेकाे छ । अब हेरौ राम्रो अपेक्षा चाहीँ छ ।”

दुई सयदेखि पन्ध्र हजारसम्मका फूलहरु आफूसँग उपलब्ध रहेको अर्का फूल व्यवसायी ढकबहादुर कार्की बताउँछन् । चाड पर्वहरुमा आवश्यक पर्ने फूलको माग पूर्ति गर्ने उद्देश्य रहेको बताउँदै व्यवसायी कार्कीले आफ्नो स्टलमा विभिन्न प्रजातिका गोदावरी, सयपत्री लगायतका फूलहरु रहेको जानकारी दिए ।

उनले भने, “हाम्रो उद्देश्य चाहीँ मागअनुसार अब यो दशैंलाई आवश्यकता हुन्छ । हाम्रो तिहार पर्वमा चाड पर्वहरुमा यो फूलहरू त्यसलाई पूर्ति गर्ने हुन्छ । अनि हामीसँग बिरुवाहरु धेरै किसिमका छन् । सयपत्री छन्, गोदावरी छन् । यसमा पनि अब पोलीमा छ हामीसँग गमला पटमा छ । अब दुई सय, चारसय, छ सय, आठ सयदेखि दश हजार पन्ध्र हजारसम्मका हामीसँग बिरुवाहरु छन् ।”

घर सजाउन प्रयोग गरिनेदेखि विभिन्न प्रजातिका फूलहरु यस मेलामा उपलब्ध रहेको अर्का फूल व्यवसायी कृष्णराम थापाले बताए । यो मेला पुष्पमा रमाउने मानिसहरुले छुटाउन नहुने उहाँको सुझाव छ । प्रदर्शनीमा बजारको भन्दा सुलभ मूल्यमा फूलहरु पाइने उनको भनाइ छ । 

उनले भने, “पुष्पमा रमाउने साथीहरु हुनुहुन्छ पुष्पमा घर सजाउनेदेखि लिएर विभिन्न प्रकारका नयाँ नयाँ बिरुवा खोजी गर्नुहुन्छ भने हाम्रो यस गोदावरी मेला जावलाखेलमा उपस्थित भइदिएर हजुरहरुले विभिन्न खालका विरुवाहरु छानेर, हजुरहरुलाई सुलभ मूल्यमा यस मेलाले विशेष प्रायोजनका साथ जुन हामीले प्रदर्शनी गरेका छौं त्यसमा हजुरहरु सहभागी भइदिएर लगिदिनु हुन अनुरोध गर्दछु ।”

फूल फुल्ने, फूल नफुल्ने र फलहरु गरी तीन प्रजातीका विरुवाहरु आफुसँग उपलब्ध रहेको अर्का फूल व्यवसायी शुसील खड्काले बताए । प्रदर्शनी प्रतिष्पर्धात्मक भन्दा व्यापारिक प्रयोजनका लागि भएको उनकाे भनाइ छ । आफूसँग सयदेखि पचास हजारसम्मका बिरुवाहरु उपलब्ध रहेको बताउँदै उनले आफुसँग पच्चिसदेखि तीस प्रजातिका बिरुवाहरु उपलब्ध रहेको बताए ।

उनले भने, “हामीसँग स्टलमा फ्लावरिङ्ग, नन—फ्लावरीङ्ग र फ्रुट्सहरु सबै नै हामीले समेटेर राखेका छौ, किनभने यो प्रतिष्पर्धात्मक भन्दा पनि व्यापारिक प्रयोजनका लागि गरिएको मेला भएका कारणले हामीले व्यापारीक प्रयोजनकै लागि भनेर हामीले हामीसँग फलफूलका पच्चिस, तीस भेराइटि भन्दा बढी छन् । पूmल फुल्ले बिरुवाहरु जसमा इनडोर, आउटडोर दुईवटा गरेर हामीसँग त्यही अठार बीस थरी ल्याउन सकेका हुनसक्छौ हामीले यहाँ । हामीसँग भएकामध्ये केही बिरुवाहरु हामीसँग चालिस—पचास हजारसम्मका पनि ल्याएका छौँ यहाँ र सय रुपैयाँ मिनिमममा चाहीँ थेरैमा हामीले सयदेखिको बेच्ने बिरुवाहरु लिएर आएका छाैं ।”

असोज २९ देखि शुरु भएको मेला कार्तिक २ गतेसम्म चल्नेछ । पाँच दिनसम्म सञ्चालन हुने यस गोदावरी फूलको प्रदर्शनीमा चालिस हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने आँकलन आयोजकको छ । साथै एक करोड तीस लाख भन्दा बढीको व्यवसायिक कारोबार हुने आयोजकको अपेक्षा छ ।