एमाले केन्द्रीय सदस्य ढकालको जिकिर : ‘ओलीको नेतृत्व अपरिहार्य’


काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य भूमिश्वर ढकालले पार्टीलाई एकताबद्ध बनाउन केपी शर्मा ओलीको नेतृत्व अपरिहार्य रहेको बताएका छन् ।

पार्टीको जारी केन्द्रीय कमिटिको बैठकमा बोल्दै ढकालले पार्टीलाई कमजोर बनाउन पार्टी नेतृत्वमाथि चरणबद्ध प्रहार भइरहेकाले यसका बिरुद्ध एकताबद्ध भएर लाग्नुपर्ने बताए ।

बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको विशेष प्रस्तावको समर्थन गर्दै ढकालले वर्तमान सरकारलाई ‘गैरसंवैधानिक र प्रतिगमनकारी’ भएको टिप्पणी गरे । उनका अनुसार यस्तो सरकारले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास दल र जनतामा जगाउन सकेको छैन । “आजको कार्यभार जनतालाई जागृत गराउँदै, पार्टी पंक्तिलाई सचेत बनाउँदै, पार्टीको पक्षमा जनलहर सिर्जना गर्नु हो,” उनले भने ।

राष्ट्र र राष्ट्रियताको सवालमा पार्टी अध्यक्ष ओलीले देखाएको दृढता र नेतृत्व क्षमताको प्रशंसा गर्दै ढकालले भने, “श्रद्धेय अध्यक्ष ज्युलाई विगतमा पार्टी अध्यक्ष र सदस्यताबाट कारबाही गरेर सडकमा पु¥याउन खोज्दा पनि उहाँ विचलित हुनु भएन । उहाँले जस्तोसुकै आँधीबेहरी पनि सामना गर्नसक्ने क्षमता देखाउनुभयो । पार्टीलाई यो उचाइ दिनु भयो । त्यसैले हिजो पनि उहाँको आवश्यकता थियो, आज पनि छ र भोलि पनि रहनेछ ।”

उनले पार्टीलाई एकताबद्ध बनाउन सबै नेता तथा कार्यकर्तालाई अध्यक्ष ओलीको नेतृत्वमा साथ दिन आग्रह गरे । वर्तमान सरकार गैरसंवैधानिक र प्रतिगमनकारी भएको दाबी गर्दै ढकालले निष्पक्ष र भयरहित निर्वाचन सम्भव नदेखिएको भन्दै जनतालाई जागृत र पार्टी पंक्तिलाई सचेत बनाउन आग्रह गरे ।

ढकालले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका घटनाबारे विस्तृत अध्ययन गर्न तथा त्यसमा संलग्न विभिन्न शक्तिहरूको पहिचान गरी जनतामाझ तथ्यसहित प्रस्तुत गर्न छानबिन आयोग गठन गर्न माग गरे ।

साथै, आन्दोलनका नाममा गृह प्रशासनले सक्कली जेनजीलाई बेवास्ता गर्दै नक्कली जेनजीलाई पुरस्कार र प्रमाण पत्र प्रदान गरिरहेको दाबी गर्दै लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका नेता ढकालले आन्दोलनका घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरे ।