प्रधानमन्त्री सुशीला कार्कीको सम्पत्ति छानबिन गर्न वाइसिएलको माग


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी (केन्द्र) निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)ले प्रधानमन्त्री सुशीला कार्कीको पनि सम्पत्ति छानबिन हुनुपर्ने माग गरेको छ ।

शुक्रवार अनेरास्ववियु (क्रान्तिकारी) सहित संयुक्त रुपमा आयोजना गरिएको पत्रकार सम्मेलनमा वाइसिएलका अध्यक्ष पुष्प ओलीले पूर्वप्रधानमन्त्री मात्र होइन, पूर्वराजा, पूर्वराष्ट्रपति र राप्रपाका नेताहरुको समेत सम्पत्ति छानबिन गर्नुपर्ने बताउँदै सरकारलाई निष्पक्ष छानबिनका लागि दबाब दिएका छन् ।

ओलीले भने, “हाम्रो माग छ – वर्तमान प्रधानमन्त्रीको समेत सम्पत्ति छानबिन हुनुपर्छ । यो न्यायमूलक र समतामूलक राज्य हो, त्यसैले छानबिन निष्पक्ष ढंगले हुनुपर्छ । वैरभाव राखेर वा पक्षपातका आधारमा हुने छानबिनको हामी विरोध गर्छौं, तर निष्पक्ष छानबिन हामीले स्वागत गर्छौं ।”

भ्रष्टाचारमा संलग्न जो कोही भए पनि कारबाही हाम्रै नेताबाट सुरु गर्नुपर्ने बताउँदै उनले भने, “माओवादीलाई छुट छैन, शहीदको रगतमाथि होली खेलेर भ्रष्टाचार गर्ने कसैलाई माफी छैन ।” ओलीका अनुसार पूर्वराजा, राप्रपा र रास्वपाका नेताहरुको सम्पत्ति र पार्टी कार्यालयसमेत किन प्रभावित भएनन् भन्ने पनि गम्भीर प्रश्न रहेकाे र छनबिन हुनुपर्छ ।

पत्रकार सम्मेलनमा अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष विजयप्रकाश सापकोटाले सरकारले निर्वाचन गराउने जनादेशअनुसार काम नगरेको भन्दै आपत्ति जनाए ।