कलंकीमा सुविधा सम्पन्न ‘यात्रु प्रतिक्षालय’ देशभर विस्तार गर्ने लक्ष्य


काठमाडाैँ । कलंकीमा नेपालकै पहिलोपटक सुविधासम्पन्न प्रतिक्षालय सञ्चालनमा आएको छ । देशको जुनसुकै ठाउँका लागि पनि टिकट काट्न सकिने अनलाइन प्लेटफर्म बससेवा डटकमले यात्रुहरुका लागि सुविधासम्पन्न प्रतिक्षालय सञ्चालनमा ल्याएसँग यात्रुहरुलाई गाडी कुरेर बाटोमा बस्नुपर्ने बाध्यता कम भएको छ ।

प्रतिक्षालयमा ७० देखि १ सय जनासम्म यात्रुहरु विश्राम गर्न कुर्सीहरु राखिएको छ । यात्रुहरुका लागि फ्री वाइफाईको व्यवस्था गरिएको छ भने चिसो, तातोपानीको समेत व्यवस्था गरिएको छ ।

बस सेवा डटकमका बिजनेस हेड डेनिसजंग थापाले बसको टिकट काट्ने यात्रुलाई फोकस गरेर नेपालमै पहिलो पल्ट सुविधा सम्पन्न यात्रु प्रतिक्षालय खोलिएको बताए । उनकाअनुसार बस सेवा डटकमले सोही प्रतिक्षालयबाट पनि अनलाइन टिकटको व्यवस्था गरेर यात्रुहरुलाई गन्तव्यसम्म पु¥याउने व्यवस्था गरेको छ ।

बिजनेस हेड डेनिसजंग थापाले भने, “बसको टिकट काटेर यात्रु प्रतिक्षालयमा मज्जाले यात्रु प्रतिक्षालयमा बस्न सकिन्छ । बाइफाइ, चिया, तोतो चिसो पानीको व्यवस्था पनि गरेका छौं । बसपार्कदेखि कलंकीसम्म गाडी नआउञ्जेल मज्जाले यहाँ बस्न पाइन्छ । यहाँ ७० देखि १०० जना यात्रु प्रतिक्षालयमा बस्न सक्नुहुन्छ । बेलुका र बिहानमा यात्रुहरुको चाप प्रतिक्षालयमा हुने गरेको छ ।”

उनकाअनुसार आगामी दिनमा कलंकीमा मात्रै नभएर देशका विभिन्न बसपार्क नजिक यस्ता खाले प्रतिक्षालय बनाउने योजना बस सेवाको रहेको छ । यात्रुहरुलाई बस चढ्ने र झर्ने बेला धेरै नै दुःख देखेर आफूहरुले कलंकीसहित अन्य ठाउँमा समेत सुविधासम्पन्न प्रतिक्षालय खोल्न प्ररित गरेको थापाले बताए ।

कलंकीको प्रतिक्षालयमा एसीको समेत व्यवस्था गरिएको उनको भनाइ छ । प्रतिक्षालयमा ४/५ जना कर्मचारीहरु समेत छन् । उनीहरुले यात्रुको समानको समेत सुरक्षा गर्ने गरेका छन् ।

कलंकीको सुविधासम्पन्न प्रतिक्षालयमा बसको यात्रु बालकृष्ण पाण्डेले यात्रु प्रतिक्षालयले धेरै सहज बनाएको बताए । उनकाअनुसार पहिला काठमाडौं आउँदा कलंकीमा धेरै दुःख पाइने समस्या रहेकोमा अहिले अञ्जानको ठाउँमा आउदा पनि यात्रु प्रतिक्षालयकै कारण केही सहज महसुश हुने बताउँछन् ।

यात्रु पाण्डेले भने, “बससेवाले सञ्चालन गरेको यात्रु प्रतिक्षालय एकदमै राम्रो लाग्यो । मैले कपिलवस्तुबाट टिकट काटेर आउदाँ पनि बससेवा अनलाइनबाटै काटेको थिए, काठमाडौंमा झर्दा पनि यसैको प्रतिक्षालयमा बस्न पाए । पहिले कलंकीमा झर्दा बाटोमा उभिनुपर्ने समस्या थियो । प्रतिक्षालय बनेपछि यहाँ बस्न पाइयो । धेरै आनन्द आयो । धेरै खुशी समेत लाग्यो ।”

बस सेवा डटकमकाअनुसार दैनिक सयौँले यो प्लेटफर्ममार्फत टिकट काटेर यात्रा गरिरहेका छन् । जसकारण यात्रु ठगिने समस्या हटेको छ भने लामो लाइनमा बस्नुपर्ने झन्झट पनिको कमी भएको छ ।