नेपाल विद्युत् प्राधिकरणले ६ उद्योगको लाइन काट्यो


काठमाडौँ । डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले ६ उद्योगको लाइन काटेको छ ।

प्राधिकरणले शिवम सिमेन्ट, घोराही सिमेन्ट, जगदम्बा स्टिल, रिलायन्स स्पेनिङ मिल्स, त्रिवेणी स्पेनिङ मिल्स र अर्घाखाची सिमेन्टको लाइन काटेको हो ।

प्राधिकरणले बक्यौता रकम तिर्न कात्तिक २ गतेसम्मको समय दिएको थियो । बक्यौता रकम तिर्नेबित्तिकै लाइन जोडिने प्राधिकरणले जनाएको छ।

२६ ओटा उद्योगका सञ्चालकले असोज ३१ गते प्रधानमन्त्री सुशीला कार्कीलाई सामूहिक पत्र लेख्दै निवेदन विचाराधिन रहेकै अवस्थामा बक्यौता नतिरे लाइन काट्ने पत्र पठाइएको भन्दै प्रधानम्नत्री कार्कीको ध्यानाकर्षण गराएका थिए ।

उनीहरूले अनुचित र अपमानित भएर अहिलेको अवस्थामा उद्योग व्यवसायी समेत सञ्चालन गर्न नदिने चेतावनी दिएका थिए ।

उद्योगीले आफूहरूले बक्यौता तिर्न तयार रहेको पनि स्पष्ट पारेका थिए ।

प्रधानमन्त्री कार्कीलाई बुझाइएको ध्यानकर्षण भनिएको थियो ,“हामीलाई उद्योग सञ्चालनका लागि विद्युत प्रदान गरिएको तथ्यको प्रमाण दिएर ४, ६, ८, १०, २०, ४० अर्ब जे जति रकमको दायित्व कायम हुन आउछ सो पुर्ण रकम हामि तिर्न तयार रहेका छौँ ।”

उद्योगीले लाल आयोगको सिफारिस बमाजिम प्रमाणको आधारमा जे जति रकम वक्यौता कायम हुन आउँछ सो रकम तिर्न बुझाउन सधै तयार रहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरेका थिए । प्राधिकरणले भने यसको कुनै सुनवाई नगरी लाइन काट्न सुरु गरेको छ ।