काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली नोटमा नेपाल संवत उल्लेख गर्ने व्यवस्था मिलाउने बताएकी छन् ।
राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा बोल्दै प्धानमन्त्री कार्कीले नेपाली नोटमा नेपाल संवत उल्लेख गर्ने विषयमा नेपाल राष्ट्र बैकसँग परामर्श गरी प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएकी हुन् ।
प्रधानमन्त्री कार्कीले भनिन्,“नेपाल राष्ट्र बैकद्धारा निष्कासित गरिने नोटमा नेपाल संवत उल्लेख गर्ने विषयमा संवन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु ।”
नेपाल संवत विशेष गरी कान्तिपुर र भादगाउँमा उत्पत्ति भए पनि राष्ट्रकै मौलिक संवत भएको उनको भनाई छ ।
नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः एक कुशल व्यापारीभए पनि उनी नाफा कमाउने व्यापारी नभएको उनको भनाई थियो ।
११४६ वर्ष अगाडी राजा रागवदेवको शासनकालमा शंखधर साख्वाःले गरिबी र ऋणमा डुबेका नागरिकहरुको ऋण विमोचन गरी ऋणको भारबाट पीडित जनतालाई मुक्त गरेका थिए । यो दिन नै नेपाल संवतको सुभारम्भको आधार मानिन्छ ।
विसं. ९३६ मा नेपाल संवतको थालनी भएको थियो ।
नेपाल संवत कुनै राजाको शक्ति वा युद्धको विजयबाट प्राप्त नभई एक व्यापारीको त्याग र परोपकारको आधारमा शुरु भएकोले यसको महत्व निकै उच्च रहेको प्रधानमन्त्री कार्कीको भनाई छ ।
प्रधानमन्त्री कार्कीले नेपाल संवतलाई सरकारी कागजातमा समेत उल्लेख गरेर सरकारले यसलाई प्रवर्धन र व्यवहारिक रुपमा लागू गर्न तत्पराता देखाएको बताइन् ।
नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः लाई विसं. २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो ।
नेपाल संवतलाई भने २०६५ कात्तिक ७ गते राष्ट्रिय संवत घोषणा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्