अमेरिकाद्वारा रुसका ठुला दुई तेल उत्पादकहरूमाथि प्रतिबन्ध,युक्रेनमा युद्धविरामका लागि दबाब


काठमाडाैँ । युक्रेनमा युद्धविरामको लागि दबाब दिन अमेरिकाले रुसका ठुला दुई तेल उत्पादकहरूलाई प्रतिबन्ध लगाएको छ ।

अमेरिकी ट्रेजरी विभागले बुधवार युक्रेनमा तत्काल युद्धविराममा सहमत हुन मस्कोलाई दबाब दिन रूसका दुई ठुला तेल उत्पादकहरू रोसनेफ्ट र लुकोइलमाथि प्रतिबन्धको घोषणा गरेको हो ।

अब हत्या रोक्न र तत्काल युद्धविरामको लागि समय आएको अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बेसेन्टले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन आवश्यक परेमा रुसमाथि थप कारबाही गर्न तयार रहेको चेतावनी दिए । साथै अमेरिकी सहयोगीहरूलाई रूसमाथि अमेरिकी प्रतिवन्धहरूमा सामेल हुन र पालना गर्न आग्रह गरेका छन् ।

ब्लुमबर्गकाअनुसार राज्य–नियन्त्रित रोसनेफ्ट र निजी रूपमा स्वामित्वमा रहेको लुकोइल दुई ठूला रूसी तेल उत्पादकहरू हुन् ।

यी दुई कम्पनीले संयुक्त रूपमा रूसको कुल कच्चा तेल निर्यातको लगभग आधा वा यस वर्षको पहिलो आधामा प्रतिदिन लगभग २.२ मिलियन ब्यारेलको हिस्सा ओगटेका छन् ।

हंगेरीमा हुने भनिएको ट्रम्प–पुटिन बैठक स्थगित भएको एक दिनपछि यो कदम आएको हो । फेब्रुअरी २०२२ मा रूस–युक्रेन द्वन्द्व शुरु भएदेखि संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूले रूसमाथि धेरै चरणको आर्थिक र व्यापारिक प्रतिवन्ध लगाएका छन् ।