काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेकपा (माओवादी केन्द्र)सहितका दलसँग एकताका लागि वार्ता गर्न गठन गरेको वार्ता टोली विघटन गरेको छ ।
जेनजी आन्दोलनपछि पुस्तान्तरण कुरा उठेको र तत्कालै एकताको सान्दर्भिकताको प्रसँग नरहेको भन्दै पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा रहेको वार्ता टोली विघटन गरेको हो ।
वार्ताको प्रयासलाई भने छलफल जारी राख्ने र यसलाई रणनीतिक रुपमा अगाडि बढाउने नेकपाको निर्णय छ ।
जेनजी आन्दोलनपछि बसेको विशेष केन्द्रीय समिमति बैठकले वार्ता टोली विघटन गर्ने निर्णय गरेको हो ।
नेकपा(माओवादी केन्द्र)को गत साउनमा बसेको स्थायी कमिटी बैठकले नेकपासँग पार्टी एकता गर्ने निर्णय गर्दै छलफललाई अगाडि बढाउने निर्णय गरेको थियो । सोही बैठकले नेकपा एकीकृत समाजवादीसँग पनि एकता गर्ने निर्णय गरेको थियो ।
नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको प्रसँग चलिरहेका बेला नेकपाले भने वार्ता टोली नै विघटन गरेको हो ।
नेकपा (माओवादी केन्द्र)ले पार्टी एकताका गर्ने निर्णय गरेपछि गत भन्दौको अन्तिम हप्ता बसेको नेकपाको केन्द्रीय समिति बैठकले प्रकाण्डको नेतृत्वमा वार्ता टोली बनाएको थियो ।
जेनजी आन्दोलनपछि बसेको नेकपाको आकस्मिक विशेष केन्द्रीय कमिटी बैठकले वार्ता टोली विघटन गरेको हो ।
पार्टीका स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले भने,“वार्ता टोली तत्कालका लागि विघटन गरिएको छ । अहिले जेनजी आन्दोलनपछि परिस्थिति फेरिएकाले पनि हो । यसमा भोलीका दिनमा फेरि हेरफेर हुनसक्छ ।”
नेकपाले आफ्नो नेतृत्वमा क्रान्तिकारी कम्युनिस्टहरुलाई गोलबद्ध गर्ने निर्णय सार्वजनिक गरिसकेको छ ।
विशेष केन्द्रीय कमिटी बैठकको निर्णय गत हप्ता काठमाडौँमा पत्रकार सम्मेलन गरेर काठमाडौँमा सार्वजनिक गर्दै महासचिव विप्लवले माओवादीसहित कम्युनिस्ट एकताका लागि पुराना नेताले मार्गप्रशस्त गर्नुपर्ने समेत बताएका थिए ।
उनले भनेका थिए “अब नयाँ कम्युनिस्ट केन्द्र निर्माण गरेर, नयाँ पुस्तालाई जोडेर जानुपर्छ । अग्रज नेतालाई सम्मानपूर्वक आग्रह पनि गरेका छौं । एकता गर्ने नै हो तर सरकारमा गएका, मन्त्री भएका बाहेक कम्युनिस्ट आन्दोलनमा भाग लिएका नयाँ पुस्ताको पार्टी बनाइनुपर्छ ।”
उनले अग्रज नेताहरूले मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिएका थिए । यसले प्रचण्डलाई नै नेतृत्व मानेर एकता गर्ने पक्षमा विप्लव नरहेको निष्कर्ष निकालिएको छ ।
यसप्रति सङ्केत गर्दै महासचिव विप्लवले पत्रकार सम्मेलनमा भनेका थिए,“ कम्युनिस्ट पार्टीका स्थापित नेता वा बनिबनाउ पार्टीले अब नेपाली जनताको चाहना पूरा गर्न सक्दैनन् ।”



प्रतिक्रिया दिनुहोस्