काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधिन संसद भवन निरीक्षण गरेका छन् ।
आज सिंहदरबारस्थित निर्माणाधिन संसद भवनको मन्त्री घिसिङले निरीक्षण गरेका हुन् ।
सरकारले आगामी निर्वाचन फागुन २१ मा तोकेको छ । फागुन २१ मा निर्वाचन भइ प्रतिनिधि सभा सदस्यहरूले नयाँ संसद भवनबाट कार्य सञ्चालन गर्नसक्ने गरी व्यवस्था मिलाउन निर्माण कार्य तिब्र बनाउन मन्त्री घिसिङले निर्देशन दिएका छन् ।
अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री घिसिङले पुरानो संसद भवन जेन जी आन्दोलनका क्रममा आगलागी भएर ध्वस्त भएकाले राष्ट्रिय सभा पनि सञ्चालन गर्नुपर्ने र प्रतिनिधि सभा पनि फागुन २१ गतेपछि सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
नयाँ संसद भवन छिटो भन्दा छिटो सञ्चालन गर्न नसके असर धेरै पर्ने स्थिति रहेको उनको भनाई थियो । पुस १६ गतेसम्म सबै काम गरिसक्ने निर्माण कम्पनीले भने पनि त्यो स्थिति पूरा हुन गाह्रो रहेको मन्त्री घिसिङले उल्लेख गरे ।
हरेक दिनको कार्यतालिका बनाएर काम गर्न निर्देशन दिदै मन्त्री घिसिङले दुई चरणमा काम गरी समयमै काम सम्पन्न गर्न निर्देशन दिए । दिनभित्र कार्यतालिका पेश गर्न र त्यही अनुसार काम गर्न उनको निर्देशन थियो ।
निर्माण कम्पनीले चाहेको खण्डमा समयमै काम सकिने भन्दै मन्त्री घिसिङले आवश्यक श्रोत, साधन र जनशक्ति खटाएर तिब्रताका साथ काम गर्न आग्रह गरेका छन् ।
समयमै काम सम्पन्न नभए कारबाही स्वरुप जरिबाना तिराउने उनले निर्माण कम्पनीलाई चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस्