सरकारको आग्रह : धर्ना र प्रदर्शन नगरी संवादबाटै माग सम्बोधन गरौं


काठमाडौँ । सरकारले विभिन्न व्यक्ति तथा समूहहरूले धर्ना, जुलुस र विरोध प्रदर्शनका कार्यक्रमहरू सार्वजनिक गर्न थालेको विषयप्रति ध्यानाकर्षण गराएको छ।

सरकारले यस्ता कार्यक्रमहरूले देशमा पुनः अस्थिरता सिर्जना गर्न सक्ने भन्दै सचेत रहन सबैमा आग्रह गरेको छ।

गृह मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा हाल देशमा शान्ति–सुरक्षाको अवस्था सामान्य हुँदै गएको र आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकार पूर्ण रूपमा क्रियाशील रहेको उल्लेख गरिएको छ।

“२०८२ भाद्र २३ र २४ गतेको प्रदर्शनपछि सार्वजनिक सेवा पुनः सुचारु गर्दै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सुरु भइसकेको अवस्थामा यस्ता आन्दोलनका कार्यक्रमहरूले निर्वाचनमुखी वातावरणमा अवरोध पुर्‍याउन सक्छन्,”विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले यस्ता गतिविधिमा स्वार्थ समूहहरूले घुसपैठ गरी अशान्ति र अराजकता निम्त्याउने सम्भावना रहेकाले आयोजकहरू समेत सचेत हुनुपर्नेमा जोड दिएको छ।

त्यसैगरी, नागरिकले शान्तिपूर्वक बाँच्न पाउने, सार्वजनिक सेवा निर्वाध रूपमा प्राप्त गर्ने र निर्वाचनमा स्वतन्त्रतापूर्वक भाग लिन पाउने अधिकार कुण्ठित हुन नदिन सबै पक्षलाई सहयोग गर्न आग्रह गरिएको छ।

सरकारले सबै जायज माग, चासो र सरोकार सम्बोधन गर्न सधैं तत्पर रहेको बताउँदै वार्ता र संवादमार्फत् समस्या समाधान गर्न आग्रह गरेको छ ।