प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तारमा विवाद, दुई मन्त्री सिफारिस रोकिन्


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आजका लागि तय गरेकी मन्त्रीहरूको शपथ समारोहमा दुई सिफारिसको नाम अन्तिम समयमा रोकिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका लागि सिफारिस भएका खगेन्द्र सुनार र भूमि व्यवस्था तथा सहकारी मन्त्रीका लागि सिफारिस भएका गणपतिलाल श्रेष्ठ दुबैको शपथ नहुने भएको हो।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, श्रममन्त्री सिफारिस सुनारमाथि दर्ता मुद्दा र प्रहरीको फरार सूचीमा नाम देखिएपछि उनीमाथि चौतर्फी आलोचना बढेको थियो। विवादित छवि भएका व्यक्तिलाई मन्त्री बनाउँदा सरकार विवादमा पर्ने सम्भावना देखिएपछि प्रधानमन्त्री कार्कीले उनको नाम अन्तिम समयमा सूचीबाट हटाउने निर्णय गरेकी हुन्।

त्यस्तै, भूमि व्यवस्था तथा सहकारी मन्त्रीका लागि सिफारिस भएका गणपतिलाल श्रेष्ठ पनि विवादमा मुछिएको भन्दै उनको शपथ रोकिएको स्रोतले जनाएको छ। सुरुमा श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने तयारी थियो, तर पछि मन्त्रालय परिवर्तन गरी भूमिसुधार मन्त्रालय दिइएको थियो। उनको शपथ रोकिनुको कारणबारे भने विस्तृत जानकारी सार्वजनिक भएको छैन।

यससँगै, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस डा। सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा सिफारिस बब्लु गुप्ता मात्र आज शपथ लिने भएका छन्।