हिमपात र वर्षाका कारण मनाङ, मुस्ताङ र म्याग्दी जिल्ला हुँदै गरिने पदयात्रामा रोक


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय म्याग्दी, मुस्ताङ र मनाङले सूचना जारी गर्दै पदयात्रा नगर्न नगराउन अनुराेध गरेको छ । यी जिल्लाको विभिन्न क्षेत्रमा भारीदेखि हल्का हिमपातको सम्भावना रहेका कारण पदयात्रा गर्न नगराउन सूचना जारी गरेको हो ।

उच्च हिमाली क्षेत्र मुस्ताङको मुस्ताङ(डोल्पा याकखर्क क्षेत्र ५८०० मिटर, मुस्ताङ(मनाङ थोरडला पास ५४५० मिटर, मुस्ताङ(मनाङ सरिबुङ पास ६००० मिटर र मुस्ताङ म्याग्दी धौलागिरी पदमार्गको धम्पुस पिक लगायतका क्षेत्रमा भारीदेखि हल्का हिमपात हुने उच्च सम्भावना रहेकोले उक्त क्षेत्रका पदमार्ग भएर पदयात्रा नगर्न नगराउन आग्रह गरेको छ ।

यस्तै मुस्ताङको अन्य भागमा समेत हिमपात र बर्षाको सम्भावना रहेकोले पर्यटक तिर्थयात्रीहरुले मौसम पूर्वानुमान सम्बन्धी आवश्यक जानकारी लिएर उच्च सतर्कताका साथ यात्रा गर्न अनुरोध गरेको छ ।

यस्तै, मनाङको तल्लो भेगमा निरन्तर वर्षा तथा उपल्लो भेगमा निरन्तर भारि हिमपात भैरहेकोले सम्भावित जोखिमलाई मध्यनजर गर्दै मनाङ वा यस जिल्ला हुँदै गरिने पदयात्रा तथा हिमाल आरोहण नगर्न नगराउन जिल्ला सुरक्षा समिति मनाङले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई अनुरोध गरेको छ ।

साथै, पर्यटकहरुलाई आफु बसेकै स्थानमा सुरक्षित बस्न तथा मनाङमा तत्कालको लागि पदयात्रा र हिमाल आरोहणका लागि ननिस्किन अनुरोध गरेको हो ।

म्याग्दी जिल्लामा पानी परिरहेको र अन्नपूर्ण वेशक्याम्प (एबिसी) मा हल्का हिमपातको शुरुवात भएकोले पदयात्रा नगर्न नगराउन अनुरोध गरेको छ ।

म्याग्दी जिल्लास्थित उच्च पहाडी तथा हिमाली भेग हिमपात हुने सम्भावित क्षेत्र भएकोले त्यस क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दा, म्याग्दी जिल्लाका पर्यटकीय स्थल (अन्नपुर्ण वेशक्याम्प, घोडेपानी, पुनहिल, खोप्रा, धौलागिरी पदमार्ग, मोहरेडाँडा आदी) लगायतमा पदयात्राको लागि आवातजावत गर्ने पर्यटक तथा पर्यटन व्यवसायी र पदयात्रीहरू साथै काम विशेषले त्यस क्षेत्रको भ्रमणमा रहेका स्वदेशी तथा विदेशी नागरिकहरू सबैले आफु रहेको एवम् यात्रा गर्ने क्षेत्रको मौसमी अवस्था, बसोबासको व्यवस्था ख्याल गरी सुरक्षित भई बस्न तथा यात्रा तय गर्न अनुरोध गरेको छ।

२०८२ कात्तिक १० गते बेलुकादेखि १४ गते बेलुका सम्म अन्नपुर्ण वेशक्याम जान रोक समेत लगाइएको छ ।

आज बिहानैदेखि नेपालका उच्च हिमाली भेगहरूमा अत्यन्त भारी हिमपात सुरु भएको छ। अन्नपूर्ण बेस क्याम्प (एबीसी), मनाङ, मुक्तिनाथ, उपल्लो मुस्ताङ, सोलुखुम्बु ९खुम्बु क्षेत्र०, गोरखा, रुकुमपूर्व जस्ता पर्यटकीय तथा हिमाली जिल्लाहरूमा बाक्लो हिउँ परेको छ। कतिपय पदयात्रा मार्गमा १० देखि ३० सेन्टिमिटरसम्म हिउँ जमेको छ।

भारी हिमपातका कारण ट्रेकिङ मार्गहरू जस्तैः एबीसी, थोरुङ ला, तिलिचो पूर्ण रूपमा बन्द भएका छन्। म्याग्दी जिल्ला प्रशासनले अन्नपूर्ण बेस क्याम्प पदयात्रामा कार्तिक १४ गतेसम्म पूर्ण रोक लगाएको छ।

जल तथा मौसम विज्ञान विभागद्वारा जारी मौसमी बुलेटिन अनुरुप देशका विभिन्न भूभागमा मिति २०८२ कार्तिक १० देखि १२ गतेसम्म सामान्य देखि हल्का बर्षा तथा हिमपात हुने संभावना रहेको छ ।