काठमाडाैँ । हालसम्मकै उच्च बनेर रेकर्ड तोड्दै गइरहेको सुनको भाउ फेरि पछिल्ला दिनहरुमा ओरालो लाग्न थालेको छ ।
अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ ।गत आइतबार एकै दिन प्रतितोला ११ हजार ६ सयले घटेर दुई लाख ४१ हजार ९ सय कायम भएको सुनको मूल्य सोमवार पुनः तोलामा दुई हजार घटेर दुई लाख ३९ हजार ९ सयमा किनबेच भएको थियो ।
आज (मंगलवार) फेरि प्रतितोला दुई हजार ९ सय घटेपछि दुई लाख ३७ हजारमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार अन्तर्राष्ट्रिय बजारमा मंगलवार सुन प्रतिऔंस तीन हजार ९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
यसरी पछिल्लो दिनहरुमा ओरालो लागेको सुनको भाउ अझै घट्ने व्यवसायीहरुको आकलन छ । महासंघका प्रथम उपाध्यक्ष धर्मरत्न बज्रचार्यले सुनको भाउ उच्च बिन्दुमा पुगिसकेकाले अब बढ्ने भन्दा पनि निरन्तर ओरालो लाग्नेक्रममा रहेको बताए ।
उनकाअनुसार प्रतितोला २ लाख ५८ हजार पुगेको सुनको भाउमा भारी गिरावट आइसकेको छ, यो क्रम निरन्तर चल्ने देखिन्छ । पछिल्लो समय अमेरीकामा सुनबाहेक अन्य क्षेत्रमा लगानीका लागि वातावरण बन्दै गर्दा लगानीकर्ता अन्यत्र डाइभर्ट भएकाले सुनको भाउ घट्ने क्रम शुरु भएको हो ।
महासंघका उपाध्यक्ष बज्रचार्यले भने, “सुनको भाउ धेरै नै बढिसकेको थियो, दुई लाख ५८ हजार भनेको धेरै नै बढी सकेको अवस्था हो । कुनै न कुनै दिन झर्न त पर्ने नै हो । अब माथि गएर झर्छ कि अब यहिँबाट झर्छ भन्ने कुरा थियो । तर यो बीचमा तिहार थियो । तिहारमा खासगरी नेपालसँगै भारतमा धेरै सुनको खपत हुन्छ । धेरै खपत हुने हुँदा भाउ बढ्न अलिकति मद्दत गरिरहेको थियो । चाडपर्व सकिएसँग भारतमा पनि अलिकति माग घटेको छ ।”
उनले अस्तिको दिनहरूमा अमेरिकाले चाइनालाई जुन ट्यारिफहरू बढाइसकेपछि चाइनाबाट जुन रियर अर्थ चाइनाले अमेरिकामा सप्लाई गर्दिन भनेका कारण अमेरिकामा भएका इलेक्ट्रोनिक्स कम्पनीहरूमा असर पुगेकाे उनले बताए । उनका अनुसार त्यसकारणले गर्दा पछिल्लो पटक अमेरिकामा अलिकति अन्योलको वातावरण भइसकेपछि पनि सुनको भाउहरू माथि जान मद्दत गरेकाे थियाे ।
“नेपालमा तिहार चलिरहेका बेला अमेरिकाले अस्ट्रेलियासँग रियर अर्थको विषयमा एउटा सम्झौता गरेको छ । अस्ट्रेलियाले हामी दिन्छौँ अमेरिकालाई रियर अर्थ भनेर भनिसकेपछि सम्झौता भयो । एउटा कारण त्यो पनि हो । अर्को एउटा कारण अब यो दुई–तीन दिन अगाडि मात्रै अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहीँ एशियन कन्ट्रीहरूको भ्रमण गरेको अवस्था देखियो,” उनले भने, “चिनियाँ राष्ट्रपतिकोसंग पनि कुरा भएको भन्ने सुनियो र त्यसमा सम्झौता भएको पनि छ, यो बिजनेसको विषयमा र त्यसले गर्दा अब चाहीँ केही मन्थर हुन्छ र अमेरिकाको जुन ट्रेड वार जुन थियो, त्यो अलिकति हल्का हुन्छ भन्ने हिसाबले नै यो अहिलेसुनमा लगानी गर्नेहरू अरू सेक्टरमा डाइवर्ट भएको देखियो । अहिले यो दुई–चार दिनदेखि हामी देख्दैछौँ अमेरिकाको जुन डाउ जोन्स लगायतका शेयर मार्केटहरू अलिकति बढेको देखिएको छ । यसको मतलब अलिकति मान्छे सुनबाट अरू सेक्टरमा डाइवर्ट भएको देखियो । त्यो कारणले गर्दा खेरि पनि अहिले सुनको माग अलि कम भएको छ र सुन अलिकति घटेको हो ।”
बज्रचार्यकाअनुसार अहिले सुनको भाउ घटेपनि खासै कारोबार भएको छैन । अन्तर्राष्ट्रिय क्षेत्रमा ट्रेडबार कम हुँदै जाँदा लगानीकर्ताहरू डाइवर्ट भएको देखिएकाले सुनको किनबेच कम भएको छ ।
पछिल्ला परिस्थितिहरु आँकलन गर्दा अहिले तत्कालै सुन प्रतिऔंस दुई–चार सय डलर घट्ने सम्भावना रहेको उनले बताए।



प्रतिक्रिया दिनुहोस्