काठमाडौँ । प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भट्टचनलाई पक्राउ गरेको हो ।
भट्टचनलाई ललितपुरको गोदावरी नगरपालिका वडा नं. ३ टौकेलबाट मङ्गलबार पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
युरोले जारी गरेको विज्ञप्तिमा ‘ठाकुर प्रसाद मानन्धर समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कुसुम लामा समेत भएको ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूर मुद्दामा अनुसन्धानको क्रममा संकलित प्रमाणहरूको आधारमा’ पक्राउ गरिएको उल्लेख छ ।
लामो समयदेखि अनुसन्धानलाई नै प्रभावित गरी लुकिछिपी गरी भट्टचन बसेको ब्युरोको विज्ञप्तिमा उल्लेख छ ।
भट्टचन नेकपा एमालेको तर्फबाट विघटित प्रतिनिधि सभा सदस्य समेत हुन् ।
प्रभु म्यानेजमेन्ट प्रा.लि.को सब–एजेण्टको रूपमा नियुक्त भएका देशभरका विभिन्न सहकारी संस्थाहरूको रकम हिनामिना गरेको आरोप भट्टचनमाथि लागेको छ ।
भट्टचन समेतले रकम हिनामिना गरी प्रभु म्यानेजमेन्ट प्रा.लि.बाट सम्बन्धित सहकारी संस्थाहरूलाई रेमिट्यान्सको रकम सोधभर्ना नगरेको भनी देशभरका ३ दर्जनभन्दा बढि सहकारी संस्थाबाट उजुरी परेको थियो ।
सोही आधारमा भट्टचन पक्राउ गरिएको ब्यूरोले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्