नेप्सेका कर्मचारीको आन्दोलन फिर्ता,बोनस विवाद अब सर्वोच्च अदालतबाट टुङ्गिने


काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीको आन्दोलन फिर्ता भएको छ ।

३७ दिनदेखि जारी आन्दोलन फिर्ता भएपछि दिनमा फिर्ता भएको छ । नेप्से कर्मचारी संघले विगत ३७ दिनदेखि आन्दोलन गर्दै आएकाे थियाे ।

कर्मचारीले श्रम अदालतको आदेशअनुसार बोनस ऐन कार्यान्वयन गर्दै ५ प्रतिशत बोनस पाउनु पर्ने भन्दै आन्दोलनमा रहेका थिए ।

विगतमा नेप्सेले ५ प्रतिशत बोनसको प्रस्ताव पठाए पनि अर्थ मन्त्रालयले भने १ प्रतिशतमात्रै स्वीकृत गरेर पठाउने गरेको थियो ।

अर्थले १ प्रतिशत नै स्वीकृत गर्ने अवस्था देखिएपछि कर्मचारीले सिधै नेप्सेले नै निर्णय गरेर ५ प्रतिशत स्वीकृत गर्नुपर्ने अडान राख्दै आएका थिएन ।

कानुनले नै अर्थ मन्त्रालयको स्वीकृत लिनुपर्ने व्यवस्था गरेपछि नेप्सेको व्यवस्थापन पक्ष अफ्ठेरोमा परेको थियो ।

कर्मचारी आन्दोलनकैबिच नेप्सेको व्यवस्थापन पक्षले श्रम अदालतको आदेश विरुद्ध सर्वोच्चमा रिट दायर गरेपछि आन्दोलन फिर्ता भएको हो । अब बोनसबारे अन्तिम व्याख्या सर्वोच्च अदालतले गर्ने छ ।

सर्वोच्चले बिपक्षीलाई १५ दिन भित्र छलफलका लागि बोलाएपछि आन्दोलन स्थगन भएको हो । संघका अध्यक्ष नवराज थापाले मङ्गलबार सर्वोच्चको पत्र आफुले बुझेको बताए ।

सर्वोच्चको पत्र पाएपछि कर्मचारी संघले आन्दोलन फिर्ता लिएको छ । नेप्सेका सिइओ चुडामणि चापागाईंले पनि अब विवाद अदालतमा गएकाले आफूले केही नबोल्ने बताएका छन् ।

उनले भने,“अब कार्यालयको काममा समस्या छैन । मुद्दा सर्वोच्चमा गएपछि यसमा मैले केही बोल्न मिल्दैन ।”

नेप्से व्यवस्थापनले असोज २८ गते सर्वोच्चमा रिट दायर गरेको थियो । सर्वोच्चले कात्तिक २३ गते दुवै पक्षबिच छलफल हुनेछ । कर्मचारीले आन्दोलन फिर्ता लिएपछि सिइओ चापागाईं आजदेखि कार्यालय गएका छन् ।