प्रधानमन्त्री कार्कीसँग जर्मनीका राजदुतको भेटः राहदानी छपाइका लागि आवश्यक पहल गरिदिन आग्रह


काठमाडाैं । नेपालका लागि जर्मनीका राजदुत उडो भोल्जले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा नेपाल र जर्मनीबीच द्विपक्षीय हित र मित्रताका विषयमा विचार आदानप्रदान भएको हो । प्रधानमन्त्रीमा कार्की नियुक्त भएपछि उनीहरुबीचको यो पहिलो भेट हो ।

भेटमा जर्मनीका राजदुत उडो भोल्जले प्रधानमन्त्री कार्कीलाई सफल कार्यका लागि शुभकामना व्यक्त गर्दै सदाझैँ नेपालको प्राथमिकताअनुसार आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

यसैबीच प्रधानमन्त्री कार्कीले नेपालको राहदानी छपाइको जिम्मा पाएको जर्मन कम्पनीसँग सम्झौतामा भएको मितिअगावैदेखि राहदानी छपाइका लागि आवश्यक पहल गरिदिन आग्रह समेत गरेकी छिन् । नेपाली नागरिकलाई छिटोछरितो सेवा प्रवाह गर्ने यस कार्यमा जर्मन पक्षबाट सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गरिन ।

जवाफमा राजदुत भोल्जले आफ्नो तर्फबाट कम्पनीलाई अनुरोध गरी यस विषयमा सक्दो पहल गर्ने बताए । भेटमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायत कूटनीतिक अधिकारीहरुको उपस्थिति थियो ।