काठमाडाैँ । हालसम्म ५६ हजार ६ सय ७३ जना काठमाडौँ महानगरवासी स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् ।
यसमा यसमा १३ हजार ५ सय ७५ जना ज्येष्ठ नागरिक, १ हजार ८५ जना अपाङ्गता भएका व्यक्ति, एचआइभी संक्रमित २ जनासहितका व्यक्ति रहेका छन् ।
महानगरपालिकाको स्वास्थ्य विभागले आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा गर्दै यस सम्बन्धी जानकारी दिएको हो । यस वर्ष १ लाख ९४ हजार १ सय ९३ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको बताइएको छ ।
जसमध्ये ८४ हजार ७ सय ४ जनाले बहिरङ्ग सेवा लिएका छन् । यस वर्ष ३० वटा स्वास्थ्य संस्था दर्ता र नविकरण गरिएको पनि बताइएको छ । १ सय २० वटा स्वास्थ्य संस्थाको अनुगमन गरिनुका साथै १ हजार ८७ जनाको विपन्न नागरिक उपचार सिफारिस भएको छ ।
बेवारिसे, विपन्न र बेसहाराको निःशुल्क उपचार अन्तर्गत २ सय १० जनालाई निःशुल्क उपचार सेवा प्रदान गरिएको महानगरले जनाएको छ ।
त्यस्तै नसर्ने रोग स्क्रिनिङ् महाअभियान अन्तर्गत २६ हजार १९ जनाको जाँच गरिएको छ भने किशोरीहरुको रक्तअल्पता स्क्रिनिङ् कार्यक्रममा २ हजार ३ सयको परीक्षण गरिएको छ । १ हजार २ सय २२ पिन्ट निःशुल्क रगत र रक्त तत्व उपलब्ध गराइएको महानगरपालिकाले जनाएको छ ।
वडा नम्बर १, ८, १०, १२, २६ र ३० बाट भिडियो एक्स रे सेवा प्रारम्भ गरिएको छ । महानगरपालिकाकाे ३२ वटै वडामा स्वास्थ्य प्रवर्धन केन्द्र स्थापना गरिएको महानगरले बताएको छ । ३१ वटा वडामा प्रयोगशाला र फिजियोथेरापी सेवा समेत सञ्चालन गरिनुका साथै यी केन्द्रसँगै महानगरपालिकाभित्र एउटा प्राथमिक स्वास्थ्य केन्द्र, ६ वटा सुरक्षित गर्भपतन सेवा केन्द्र, १ वटा वैकल्पिक चिकित्सा तथा आयुर्वेदिक संस्था र एउटा अक्युपङ्चर सेवा रहेको महानगरले जनाएको छ ।
यसै वर्षदेखि ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरुले सेवन गर्ने दीर्घ रोगका उपचारका लागि प्रयोग गरिने औषधिहरुको लगत संकलन थालनी गरिएको महानगरले बताएको छ ।
२४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिनुका साथै पर्व र विभिन्न अवसर पारेर २५ वटा स्वास्थ्य शिविर सञ्चालन गरेर करिव १५ हजार सेवाग्राहीलाई स्वास्थ्य सेवा र परामर्श प्रदान गरिएको बताएको छ । डेङ्गी रोग नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिएको पनि महानगरले जनाएको छ ।
यस वर्ष खोप सेवा प्राप्त गर्नेहरुको संख्या १६ हजार १ सय ८८ जना, स्वयंसेविकामार्फत ५९ हजार ६ सय २० जनाले सेवा प्रदान गरिएको बताइएको छ । १० वर्षदेखि १९ वर्षसम्म उमेर समूहका किशोर किशोरी पोषण कार्यक्रमका लक्षित वर्गको संख्या ७३ हजार ८ सय ९२ जना रहेको बताएको छ ।
यस समूहका किशोरीहरुलाई आइरन र फोलिक एसिड वितरण गरिनुका साथै एक वर्ष अवधिमा १३ हजार ६ सय ६० जना शिशुको जन्म भएको जानकारी दिएको छ ।
शिशुको सुरक्षित जन्मका लागि गर्भवती आमालाई स्वास्थ्य सेवा प्रदान गरिएको र सुत्केरी आमालाई भिटामिन ए र आइरन चक्की प्रदान गरिएको बताइएको छ । यस्तै उहाँहरुलाई उत्तर प्रसुति जाँच सेवा प्रदान गरिएको पनि महानगरले दाबी गरेको छ ।
खोप अभियानअन्तर्गत २०७३ साल वैशाख महिनादेखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकाहरुका लागि ओरल पोलियो भ्याक्सिन कार्यक्रम सञ्चालन गरिएको, २०८१ जेठ १३ गतेदेखि १९ गतेसम्म चलेको कार्यक्रममा २ लाख ३६ हजार १७२ जना बालबालिका अनुमान गरिएकोमा २ लाख १४ हजार १६५ जना अर्थात् ९० दशमलव ६८ प्रतिशतलाई खोप दिइएको बताइएको छ ।
५ वर्ष मुनिका बालबालिकाहरुमा हुने रोग नियन्त्रणका लागि ६६ हजार ५ सय १९ जना लक्षित बालबालिका रहेको बताइएको छ । एमोक्सिसिलिनबाट १ सय १४ जनाको उपचार गरिनुका साथै १ हजार ९ सय ९१ जना बालबालिका पखालाका कारण उपचारका लागि भर्ना भएकोमा १ हजार ९ सय ५६ जनालाई जिङ्क र ओरल रिहाइड्रेसन थेरापीबाट उपचार गरिएको बताइएको छ ।
प्रजनन उमेरका महिलाहरुका लागि गरिएको क्यान्सर परीक्षण शिविरमा ३ हजार १६ जनाको नाम दर्ता भएको बताइएको छ । उनीहरुमध्ये ६ सय ७० जनाको मेमोग्राम गरिएको बताइएको छ । ३ सय ७० जनाको स्तन परीक्षण गरिएको र ५ जनाको स्तनको वायोप्सी गरिएको बताइएको छ । उनीहरुमध्ये १ जनामा क्यान्सर देखिएको महानगरको भनाइ छ ।
सामुदायिक विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययन गर्ने ६ हजार १ सय ७५ जना छात्र र ५ हजार ४ सय ६२ जना छात्रा गरी ११ हजार ६ सय ३७ जनाको आँखा परीक्षण गरिएको बताएको छ । नसर्ने खालका रोगको कारण थाहा पाउन १९ हजार २ सय ७७ जनामा धुम्रपान र मद्यपान सेवनको सर्वेक्षण गरिएको थियो ।
सर्वेक्षणमा सहभागीमध्ये ८ दशमलव ४ प्रतिशतले नियमित सेवन गर्ने गरेको बताइएको छ । ७८ दशमलव ६ प्रतिशतले कहिल्यै सेवन नगरेको बताइएको छ । यस्तै २३ दशमलव १ प्रतिशले कहिलेकाहीँ मद्यपान सेवन गर्ने गरेको पाइएको छ । ६८ दशमलव ५ प्रतिशतले कहिल्यै मद्यपान नगरेको बताइएको छ ।
यस आर्थिक वर्षका लागि महानगरपालिकाले स्वास्थ्य क्षेत्रका लागि ९० करोड ५१ लाख ५७ हजार ३ सय रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसमा आन्तरिक स्रोतबाट ७८ करोड २१ लाख ८ हजार ८ सय रुपैयाँ, नेपाल सरकारबाट प्राप्त ९ करोड ३८ लाख ६८ हजार ५ सय रुपैयाँ र प्रदेश सरकारबाट प्राप्त २ करोड ९१ लाख ८० हजार रुपैयाँ थियो ।
यसरी विनियोजित रकममध्ये आन्तरिक स्रोततर्फ ५५ दशमलव ६४ प्रतिशत वित्तीय प्रगति र ७६ प्रतिशत भौतिक प्रगति भएको छ । नेपाल सरकारबाट प्राप्त रकमको वित्तीय प्रगति ९३ दशमलव २६ प्रतिशत र भौतिक प्रगति शतप्रतिशत भएको महानगरपालिकाले जनाएको छ । प्रदेश सरकारबाट प्राप्त रकमको वित्तीय प्रगति ९६ दशमलव ५१ प्रतिशत र भौतिक प्रगति शतप्रतिशत भएको छ ।
कुल विनियोजित रकमको वित्तीय प्रगति हेर्दा ६५ दशमलव ८६ प्रतिशत प्रगति भएको छ । गएको वर्षका सिकाइबाट विभागले यस वर्ष स्वास्थ्य विमा प्रथम विन्दु विस्तार गर्ने, केन्द्रिय प्रयोगशाला सञ्चालन गर्ने, सेवाग्राहीहरुको डिजिटल हेल्थ प्रोफाइल तयार पार्ने योजना कार्यान्वयन गरिरहेको छ ।
वडाबासीलाई प्राथमिक उपचार र आकस्मिक उपचार सन्बन्धी तालिम दिने, सामुदायिक विद्यालयहरुमा लिटिल डाक्टर कार्यक्रम सञ्चालन गर्ने, आँखा, दाँत र रक्त अल्पताको स्क्रिनिङ तथा प्रारम्भिक उपचार गर्ने, ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरुलाई घरमै आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने योजनालाई स्वास्थ्य विभागले कार्यान्वयन गरिरहेको पनि महानगरको भनाइ छ ।

 
  
                            

 
                    
प्रतिक्रिया दिनुहोस्