उचित पारिश्रमिककाे माग राख्दै निजामती कर्मचारी अस्पतालका नर्सहरु आन्दोलित


काठमाडाैं । निजामती कर्मचारी अस्पतालमा नर्सहरुले पनि आन्दोलन शुरु गरेका छन् । 

शुक्रवार काठमाडौंको मीनभवनस्थित सो अस्पतालको मूल गेटमा धर्ना दिँदै उनीहरुले उचित पारिश्रमिक दिनुपर्ने लगायतका नेपाल नर्सिङ संघले सरकारलाई बुझाएको १५ बुँदे मागसहितको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् ।

न्युनतम सेवा र सुविधाबाट वञ्चित नगर्न माग गर्दै सो संघले जारी राखेको आन्दोलनमा आफूहरुले पनि धर्नामार्फत ऐक्यवद्धता जनाएको बताएका छन् । उनीहरुले योग्यता र अनुभवको आधारमा आफूहरुलाई सेवा दिने व्यवस्था गर्न पनि सरकारलाई दबाब दिए । 

आन्दोलनरत एक नर्सले भनिन्, ‘चौबिसै घण्टा सेवा दिने हामीहरु आवश्यक सेवा लिनबाट वञ्चित छौं । र जुन माग नेपाल नर्सिङ संघले मागेको छ नेपाल सरकारसँग । सबैलाई आवश्यक सेवा सुविधा हुनुपर्छ भनेर । त्यही मागलाई हामीले पनि धर्नामार्फत साथ दिएका हौँ ।’ 

बिहान १० बजेदेखि १२ बजेसम्म धर्नामा बसेका उनीहरुले श्रमको उचित मूल्यांकन गर, योग्यता र अनुभवको अनुसार पारिश्रमिक कायम गर, जोखिम भत्ता र अतिरिक्त भत्ताको तत्काल व्यवस्था गर भन्ने प्लेकार्डसहित धर्नामा बसेका थिए । नेपाल नर्सिङ संघको आह्वानमा देशभर नर्सहरुले आफूहरुको न्युनतम सेवा, सुविधाको तत्काल व्यवस्था गर्नुपर्नेलगायतका माग राखि देशभर विरोध प्रदर्शन गर्दै आएका छन् ।