काठमाडाैँ । धोबिखोला करिडोरदेखि बागमती आसपासका अवैध संरचना हटाइने भएको छ । काठमाडौँ उपत्यका प्राधिकरणकाअनुसार धोविखोला, बागमती नदि आसपासमा सार्वजनिक जग्गामा संरचना बनाएर अवैध रुपमा बसेकाहरुलाई हटाउन लागिएको हो ।
लामो समयदेखि मौखिक रुपमा त्यस्ता संरचना बनाएर बसेकाहरुलाई हट्न भनिएपनि सुनुवाई नभएपछि ७ दिने अल्टिमेटम दिइएको प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले बताइन् ।
उनकाअनुसार त्यसरी सार्वजनिक जग्गा हडपेकाहरुले निर्धारित समयमै खाली नगराए बल प्रयोग गरेर हटाइनेछ । उनकाअनुसार सुकुम्वासी बस्तीलाई हटाउने तयारी अहिले गरिएको छैन ।
प्राधिकरणकी विकास आयुक्त ढकालले भनिन्, “जुन हामीले गर्न खोजेको धोविखोला, बागमती नदि आसपास हो । जहाँ सार्वजनिक जग्गा हडपेर संरचनाहरु बनाइएका छन् त्यहाँ खाली गर्नू भनिएको हो । जसले अतिक्रमण गर्नुभएको छ, सात दिनभित्र खाली गर्न भनेका छौं । थापाथलीको सुकुम्वासी बस्तीलाई अहिले नै हटाउने योजना भने छैन । सुकुम्वासीलाई यो सूचना जारी गरिएको होइन । सुकुम्बासी समस्या अर्कै समस्या हो । यसको समाधान खोजेर मात्रै हटाउनुपर्छ ।”
काठमाडौँ विकास प्राधिकरण र काठमाडौँ महानगरले आज सूचना जारी गर्दै त्यस्ता संरचना हटाउन ७ दिने अल्टिमेटम जारी गरेको थियो ।
अतिक्रमित जग्गा तथा मापदण्ड विपरितका संरचना खाली गर्न जारी गरिएको सूचनमा काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणको मिति २०८२ असोज २ गते बसेको संयुक्त बैठकबाट निर्णय भएको उल्लेख गरिएको छ ।
सार्वजिक सूचनामा भनिएको छ, “सूचना जारी गरी अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरितका संरचना खाली गर्ने/हटाउने निर्णय भएको जानकारी गराइन्छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ के परिच्छेद ७ र दफा ४५ विपरित भवनजन्य संरचना निर्माण गर्न नहुने र सोही ऐनको दफा ९७ अनुसार सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विकास व्यवस्थापन गर्ने जिम्मेवारी र दायित्व स्थानीय तहको भएकाले यस विपरीत भए/गरेका कार्यहरू ७ (सात) दिनभित्र हटाइ सहयोग गरिदिनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ ।”
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र र सीमाना जोडिएका काठमाडौं जिल्ला भित्रका यस्ता सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरितका संरचना नहटाए कारबाही गरी खाली गर्न भनिएको छ । –न्युज एजेन्सी नेपाल

 
  
                            

 
                    
प्रतिक्रिया दिनुहोस्