काठमाडाैँ । राष्ट्रिय सभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनाहरु अघि बढ्न नसक्नुका कारणहरु स्पष्ट पार्न सरकारसँग माग गरेका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले सम्पन्न हुनै लागेका सो आयोजनाहरु पूरा गर्ने दिशामा ध्यान केन्द्रित गर्न पनि सरकारलाई सचेत गराएका छन् ।
बैठकमा नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले राष्ट्रिय गौरवका आयोजनाहरु अघि बढाउन नसक्नुको कारण स्पष्ट पार्न सरकारसँग माग गरे।
उनले राष्ट्रिय गौरवको आयोजनाबारे पुनरावलोकन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद श्रेष्ठले भने, “यो गएको बजेटमा राष्ट्रिय गौरको आयोजनाहरुको पुनरावलोकन गर्ने भन्ने नीति पनि सरकारको आएको छ । यस विषयमा हामीले पनि प्रश्न उठाउने गरेका छौं । तर कस्तो आयोजनालाई हामीले राष्ट्रिय गौरवको आयोजना मान्ने त ? यस विषयमा हामीले पनि केही सुझाव दिनसक्छौँ कि सक्दैनौं ? राष्ट्रिय गौरवका आयोजना यो यो हुन भनेर सरकारलाई ठोस सुझाव दिनसक्यौँ भने सार्थकता हुन्छ कि भन्ने मलाई लागेको छ । मन्त्रालयहरुले आफूले भनेको काम किन राष्ट्रिय गौरवको आयोजनामा गर्न सकेन भन्नेकुरा प्रष्ट हुनुपर्छ । त्यसो भयो भने सम्बन्धित मन्त्रालय आफ्नो काम गर्न बढी शतर्क हुन्छ कि । यो काममा गम्भिर बन्नुपर्छ ।”
त्यसैगरी नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले राष्ट्रिय गौरवका आयोजनाबारे अनुगमन गरेर त्यसको पछिल्लो अवस्थाबारे सरकारसँग जानकारी लिन उपयुक्त हुने धारणा राखे ।
उनले आगामी निर्वाचन र मुलुकको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री र मन्त्रीहरुलाई बोलाएर छलफल गर्न पनि उपयुक्त हुने सुझाव राखे ।
सांसद आछामीले भने, “राष्ट्रिय गौरवका आयोजनाहरु अघि बढ्न नसक्नुको कारणबारे अनुगमन गर्ने र सरकारसँग छलफल गरेर अघि बढने कुरालाई जोड दिनुपर्छ । यस विषयमा सम्भव भयो भने प्रधानमन्त्री, मन्त्रीहरुसँग पनि अहिलेको लेटेष्ट सिचुएसनको बारेमा पनि र निर्वाचन पनि हुने भएकाले यसको बारेमा पनि छलफल गर्नका लागि वातावरण बनाउन उपयुक्त हुन्छ ।”
सांसदहरुले सम्पन्न हुने अवस्थामा रहेका राष्ट्रिय गौरवका आयोजनाहरुको काममा ध्यान केन्द्रित गर्न सरकारलाई सचेत गराए । उनले कर्णाली प्रदेशका सो आयोजना अघि बढाउने काममा सरकार केन्द्रित हुनुपर्ने समेत बताए ।
सांसद गैरले भने, “जहाँ थोरैथोरै काम गर्दा राष्ट्रिय गौरवका आयोजना सम्पन्न हुने अवस्थामा छ, ती योजनाहरु हामीले हेर्नुपर्छ होला । कालीगण्डकी करिडोरकै कुरा गरौं । यसको पाल्पा खण्डको केही भागहरु सम्पन्न भईसकेको छ । केही बाँकी छ । पर्वत खण्ड पनि केही मात्रै बाँकी छ । त्यसैले यो सम्पन्न हुने चरणमा अगाडि छ । यसमा पाल्पाको रानीमहल खण्ड र पर्वतको अलिकति खण्ड हेर्दा करिव करिव सम्पन्न हुने चरणमा छ । यो अगाडि बढाउनुपर्ने देख्छु मैले । कर्णाली प्रदेशका योजनाहरुको कुरा पनि छ । त्यसमा अनुगमनका लागि जाने कि नजाने भन्ने विषयमा पनि निष्कर्षमा पुगौं ।”
सांसद गैरले राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमनको कामलाई पनि प्रभावकारी रुपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।

 
  
                            

 
                    
प्रतिक्रिया दिनुहोस्