माओवादी केन्द्रसँगको पार्टी एकता अभियुक्तहरुको एकता हो, प्रचण्ड सम्पती शुद्धिकरणको निगरानीमा छन्ः नेता अर्याल


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का नेता दामोदर अर्यालले नेकपा (माओवादी केन्द्र) सँगको एकता अभियुक्तहरुको एकता मात्रै हुने बताएका छन् ।

सञ्चारकर्मीहरुसँग पार्टी केन्द्रिय कमिटी बैठकस्थलमा शुक्रवार कुराकानी गर्दै उनले जेनजी मुभमेण्टले सबै पार्टीको गठन, पुनःगठन, ध्रुवीकरण गर, पुराना नेताहरु भ्रष्ट भए, पुराना नेता बाहेकको पार्टी निर्माण गर भन्ने आदेश दिएको तर माओवादीसँगको एकताले त्यो पुष्टि हुन नसक्ने धारणा राखे ।

उनले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल सम्पती शुद्धिकरणको निगरानीमा रहेका र पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पनि सुन तस्करी प्रकरणमा कारागारमा रहेको र अन्य नेताहरुसमेत सुन तस्करीसँग जोडिएको भन्दै माओवादीसँगको पार्टी एकता अभियुक्तहरुको एकता हुने जिकिर गरे ।

अभियोग लागेका, राज्यको निगरानीमा रहेका, भ्रष्टाचारको मुद्दामा लागेका मान्छेहरुको एकताले जनतामा आशा र विश्वास जगाउन नसक्ने उनको भनाइ छ । बद्नाम भएका पात्रहरु बाहिर राखेर समाजले पचाउने खालका इमान्दार नेताहरुको नेतृत्वमा पार्टी पुनःगठन अहिलेको आवश्यकता रहेको उनले बताए ।

अभियुक्तहरुको एकता नभइ वामपन्थीहरुको एकता जरुरी रहेको उनकाे भनाइ छ । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजी युवाहरुको हत्याको आरोपमा अर्धभूमिगत रहेको आरोप लगाउँदै छानविन आयोगमा गइ बयान दिने र राजनीतिक अवकाश लिनुपर्ने बताए । 

वाम पार्टीहरुको एकता नभइ वामपन्थीहरुको एकता जरुरी रहेको उनकाे भनाइ छ । आफूहरु शिर्षस्थ नेता बाहेकको पार्टी एकताको पक्षमा रहेको उनले बताए ।