मन्त्री घिसिङको प्रतिबद्धतापछि बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो


काठमाडौं । चार दिनदेखि रोकिएको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन आजबाट पुनः सुरु भएको छ। सहरी विकासमन्त्री कुलमान घिसिङको टोलीले स्थानीय माग सम्बोधनको प्रतिबद्धता जनाएपछि बञ्चरेडाँडा ल्याण्डफिल साइट खुलाइएको हो।

ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईंका अनुसार आइतबार मन्त्री घिसिङसहितको टोलीले स्थानीय बासिन्दा र जनप्रतिनिधिसँग छलफल गरी १५ दिनभित्र माग सम्बोधन गर्ने आश्वासन दिएको थियो।

‘मन्त्रीज्यूले १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो। अहिलेका लागि फोहोर रोक्न नदिन आग्रह गर्नुभयो, त्यसैले साइट खोलिएको हो,’ बजगाईंले भने, ‘रोकिएका फोहोर बोक्ने गाडीहरू बञ्चरेडाँडा पुग्न थालेका छन्।’

आइतबार बिहान मन्त्री घिसिङसँगै काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, वातावरण विभाग प्रमुख सरिता राई लगायतको टोली बञ्चरेडाँडा पुगेको थियो। टोलीले स्थल निरीक्षण गर्दै स्थानीयको मागबारे प्रत्यक्ष जानकारी लिएको थियो।

बञ्चरेडाँडाका प्रभावित स्थानीयहरूले २०७९ जेठ २६ गते संघीय सरकार र काठमाडौं महानगरपालिकासँग भएको १८ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै फोहोर फाल्न अवरोध गर्दै आएका थिए। शुक्रबार सहरी विकास मन्त्रालयमा भएको छलफल निष्कर्षविहीन भएपछि फोहोर व्यवस्थापन फेरि संकटमा परेको थियो।

काठमाडौं उपत्यकाका विभिन्न स्थानीय तहबाट दैनिक १५० भन्दा बढी फोहोर बोक्ने गाडी बञ्चरेडाँडा पुग्ने गर्छन्।