नेकपा एससहितको संयुक्त बैठक कात्तिक २० बस्ने माओवादी केन्द्रको निर्णय


काठमाडाैं । नेकपा (माओवादी केन्द्र) ले यही कात्तिक २० गते नेकपा (एकीकृत समाजवादी)सहितको बैठक बोलाएको छ ।

आईतवार पेरिसडाँडामा बसेको पार्टी सचिवालय बैठकले सो पार्टीसँग एकतागरी संयुक्त बैठक बस्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले १८ गते (मंगलवार) भने पार्टी केन्द्रिय कमिटी बैठक बोलाएको छ । पार्टी केन्द्रिय कमिटी बैठक १८ गते बस्ने र एकीकृत समाजवादी लगायतका एकतामा आउने दलहरुको बैठक भने २० गते बस्ने निर्णय गरिएको पार्टीका नेता अग्नीप्रसाद सापकोटाले जानकारी दिए ।

बैठक सचिवालयका सदस्य जनार्दन शर्माले भने बहिष्कार गरेका थिए । संयोजक पुष्पकमल दाहालले नेतृत्वमा आफ्नो निरन्तरताका लागि सो पार्टीसँग एकता गर्ने निर्णय गरेकाले आफूलाई मान्य नहुने धारणा शर्माले शनिवारको बैठकमा राखेका थिए । तर, आज भने शर्मा बैठकमा उपस्थित नभएको पनि पार्टी प्रवक्ता सापकोटाले बताए । उनले शर्मालाई पार्टीले अराजक गतिविधिमा संलग्न भएको निष्कर्ष निकालेको समेत बताए । 

“हाम्रो केन्द्रिय समिति बैठक पर्सी १८ गते बस्ने अनि संयुक्त अधिवेशन एकीकृत समाजवादी लगायतका एकतामा आउनेहरुको बैठक २० गते बस्ने कुरा भएको छ,” नेता सापकोटाले भने, “आज छलफल भएको विषयहरु अब यो समायोजना गर्ने विषयमा, नीतिगत र बैचारिक विषयहरुमा फेरि एकता भएपछि हामीले नयाँ दल दर्ता गर्नुपर्छ निर्वाचन आयोगमा । त्यो दल दर्ता गर्ने विषयमा बढी छलफल भएको थियो । विशेष गरी आन्तरिक संगठनात्मक विषयमा आजको छलफल केन्द्रित भयो ।”

बैठकमा पार्टी एकतापछि दल दर्ता कसरी अघि बढाउने भन्ने विषयमा पनि छलफल भएको नेकपा (माओवादी केन्द्र) ले जनाएको छ ।