जेन–जी पुस्तासँग माओवादीको सोच साझा रहेको नेता सापकोटाको दाबी


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता अग्निप्रसाद सापकोटाले जेन–जी पुस्ता र आफ्नो पार्टीबीच साझा सोच र धारणा रहेको दाबी गरेका छन्।

आइतबार पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सापकोटाले जेन–जीले उठाएका मागहरू आफूहरूले पहिले नै उठाउँदै आएको माग भएको दाबी गरे। उनले माओवादी केन्द्र र जेन–जी पुस्ताको विचारमा समानता रहेको उल्लेख गर्दै ती मागप्रति पार्टी सकारात्मक रहेको बताए।

‘हामी जेन–जीले उठाएका मागहरूमा सकारात्मक मात्रै होइन, ती त हामीले पहिलादेखि नै उठाएका मागहरू हुन्,’ सापकोटाले भने, ‘जेन–जीको र हाम्रो सोच, विचार र धारणा साझा छन्। अहिले त्यसकै लागि संवाद भइरहेको छ — चाहे प्रधानमन्त्रीले बोलाउँदा होस्, चाहे राष्ट्रपतिले।’

उनका अनुसार पार्टीले जेन–जी पुस्ताले उठाएका मागहरूलाई जायज मानेको छ र त्यसबारे राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म भएका भेटघाटमा पनि समर्थन जनाइएको छ।

साथै, सापकोटाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने प्रक्रियालाई पनि सकारात्मक रूपमा लिएको बताए। उनका अनुसार लोकतान्त्रिक अभ्यासमा सबै राजनीतिक शक्तिको सहभागीता आवश्यक भएकाले यो कदम स्वागतयोग्य छ।