मन्त्री घिसिङको १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता, बञ्चरेडाँडामा फोहोर विसर्जन पुनः सुरु


काठमाडौं । शहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दासँग विभिन्न समयमा भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।

आइतबार बञ्चरेडाँडास्थित ल्याण्डफिल साइटको अनुगमन गर्ने क्रममा मन्त्री घिसिङले स्थानीयका मागहरू १५ दिनभित्र पूरा गर्ने आश्वासन दिए। उनले वातावरणीय प्रभाव मूल्याङ्कन ९भ्क्ष्ब्० बाहेकका मागहरू तत्काल कार्यान्वयन हुने बताए भने पूरक वातावरणीय प्रभाव मूल्याङ्कन पुस महिनाभित्र सम्पन्न हुने जानकारी दिए।

उनका अनुसार प्रभावित क्षेत्रको यकिन गर्न चार चरणको तथ्याङ्क संकलन आवश्यक पर्ने भएकाले भ्क्ष्ब् प्रक्रिया केही समय लाग्नेछ। अध्ययन सम्पन्न भएपछि त्यसका आधारमा जग्गा अधिग्रहण र अन्य प्रक्रिया अघि बढाइने उनले स्पष्ट पारे।

मन्त्री घिसिङले २०७९ सालमा भएको १८ बुँदे र २०८० सालमा प्रधानमन्त्रीसँग भएको ४ बुँदे सहमति अझै कार्यान्वयनमा नआएको स्वीकार गर्दै, ती सम्झौता कार्यान्वयन गर्न सबै सरोकारवालासँग समन्वय गर्ने प्रतिबद्धता जनाए।
उनले भने, “हिजो अस्तीदेखि मैले अध्ययन गरेँ, तपाईंहरूको विषयमा धेरै सहमति भएको रहेछ। ती सहमतिहरू किन कार्यान्वयन भएनन् भन्ने अब सरकारले गम्भीर भएर हेर्नुपर्छ। म सबै निकायसँग समन्वय गरेर कार्यान्वयनमा लाग्नेछु।”

फोहोर व्यवस्थापनलाई दीगो बनाउन उनले अल्पकालीन र दीर्घकालीन योजना दुवैसँग अघि बढ्ने बताए। अल्पकालीन रूपमा गर्न सकिने कामहरू तत्काल सुरु गर्ने र नीतिगत निर्णय आवश्यक विषयमा मन्त्रालयले पहल गर्ने पनि उनले जानकारी दिए।

मन्त्री घिसिङले फोहोर व्यवस्थापनको काम राति सञ्चालन गर्न निर्देशन दिएका छन्। त्यसका लागि आवश्यक विद्युत् आपूर्तिको व्यवस्था गर्न उनले नेपाल विद्युत् प्राधिकरणलाई आदेश दिएका हुन्।

ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले सरकार र महानगरपालिकाले सहमति गर्ने तर त्यसलाई कार्यान्वयन नगर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाए। उनले नागरिकले आन्दोलन नगरेसम्म सहमति बेवास्ता गर्ने चलन अन्त्य गर्नुपर्ने बताए।
‘यहाँका स्थानीयवासीहरूले नयाँ माग गरेका छैनन्,’ तामाङले भने, ‘२०८० साल वैशाख २९ गते प्रधानमन्त्रीको उपस्थितिमा गरिएको ४ बुँदे सहमति कार्यान्वयन भए यहाँका समस्या समाधान हुन्छन्। हाम्रो माग पुरानै सहमति कार्यान्वयनको हो।’

मन्त्री घिसिङले स्थानीय माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि पाँच दिनदेखि अवरुद्ध बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्न थालेको छ। साइट खुल्दै गर्दा सडकमा अलपत्र परेका फोहोर बोकेका गाडीहरू ल्याण्डफिल साइटतर्फ गएका छन्।

फोहोर अवरोध समाधानका लागि मन्त्री घिसिङ आइतबार बिहानै शहरी विकास सचिव गोपाल सिग्देल, काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायतको टोलीसहित बञ्चरेडाँडा पुगेका थिए। टोलीले स्थलगत निरीक्षण गर्दै स्थानीय बासिन्दा, ककनी गाउँपालिका र धुनवेशी नगरपालिकाका जनप्रतिनिधिसँग अन्तर्क्रिया गरेको थियो।