वायुसेवा निगमका बेथिति अन्त्य गर्न प्रधानमन्त्री कार्कीको निर्देशन


काठमाडाैँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छिन् । 

पर्यटनमन्त्रीका हैसियतमा प्रधानमन्त्री कार्कीले आज निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिएकी हुन् ।

कुनै समय गौरव गर्नलायक बनेको संस्था अहिले दर्दनाक अवस्थामा पुगेको भन्दै निगमभित्रका बेथिति हटाउन कसैको मुख नहेरी कठोर रूपमा लाग्न उहाँको निर्देशन छ । अहिलेसम्म निगम सुधारका लागि बनेका प्रतिवेदन कार्यान्वयन गर्न योजनासाथ अघि बढ्नुपर्ने उनले बताइन् । 

उनले भनिन्, “जेनजीहरूले यत्रो रगत बगाएको केका लागि हो ? यस्तै नातावाद, कृपावाद, विभेद अन्त्यका लागि होइन ? यता यत्रो आन्दोलन भइरहेको छ, उता भटाभट आफ्ना मान्छे भर्ती गरेको छ । अवकाश पाएर घर जान लाग्दा पनि मनपरी गर्न छाडिएको छैन । कतिसम्मको बेथिति हो यो ?”

कार्यक्रममा निगमका निमित्त महाप्रवन्धक जनकराज कालाखेतीले १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित नोक्शानीमा रहेको विवरण प्रश्तुत गरिन् ।