काठमाडौँ । नेकपा (माओवादी केन्द्र),नेकपा (एकीकृत समाजवादी) सहित ८ दलबिच पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आईतवार साँझ बसेको कार्यदलको बैठकमा आठ राजनीतिक दलहरूबिच एकताका लागि १८ बुँदे सहमति भएको हो ।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधिनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न वृहत कम्युनिस्ट आन्दोलनको एकीकरण आजको वस्तुगत आवश्यकता भएको पार्टी एकता सहमति पत्रमा उल्लेख छ ।
नेकपा माओवादी केन्द्र, ने.क.पा. (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी नेकपा(माओवादी समाजवादी) र नेकपा (साम्यवादी) का बिचमा पार्टी एकता र कम्युनिष्ट एकीकरणको प्रक्रिया अगाडी बढाउनका लागि १८ बुँदामा सहमति भएको छ ।
एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुनेछ भने नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने सम्झौता भएको छ ।
आन्दोलनको स्वरूप मूलतः शान्तिपूर्ण हुने उल्लेख छ । परिस्थिति अनुसार सडक, सदन र सरकार लगायत आवश्यकता अनुसारका सबै मोर्चाहरू आन्दोलनको मोर्चा हुने आठदलबिच समझदारी बनेको छ ।
पार्टीको एकता राष्ट्रिय सम्मेलन एकता प्रकृयामा सहभागी सबै घटकहरूका केन्द्रीय समितिहरूको संयुक्त भेलाको रुपमा एकता राष्ट्रिय सम्मेलनको आयोजना २०८२ कार्तिक १९ गते गरिने छ ।
एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठन लगायतका कार्यहरू गरिने भएको छ ।
एकता राष्ट्रिय महाधिवेशन आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिने र केन्द्रीय समितिको गठन एकता प्रक्रियामा सहभागी भएका पार्टीहरूका साविकका केन्द्रीय समितिहरूलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने सम्झौतापत्रमा उल्लेख छ ।
चुनाव चिन्ह पाँचकुने तारा हुने लगायत पनि आठ दलबिच सम्झौता भएको छ ।



प्रतिक्रिया दिनुहोस्