सामाजिक सञ्जाल नियमनमा तत्कालीन सरकार चुक्यो, युवाका माग अझै पूरा भएनन्ः शंकर पोखरेल


काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पश्चिमा पुँजीवादीहरुले आफूसँग असहमत रहेको सत्तालाई कमजोर बनाउन नयाँ पुस्तालाई प्रयोग गरेको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो आरोप लगाएका हुन् । महासचिव पोखरेलले पश्चिमा पुँजीवादीहरुले डिप स्टेटको अवधारणा अन्तर्गत नयाँ पुस्तालाई आम मानिस भन्दा फरक रहेको भन्ने नियोजित मनोविज्ञान तयार पारेको बताए ।

पुरानो पुस्ताले नयाँ पुस्ताको मनोविज्ञान बुझ्न नसक्ने भाष्य सिर्जना गरेर युवाहरुलाई आफ्नो स्वार्थमा प्रयोग गरेको कारण नेपालमा जेन–जी आन्दोलन भएको उनको भनाइ छ ।

उनले युवाहरुको माग अनुचित नभएपनि तत्कालिन सरकारसमक्ष मागलाई आउनै नदिएको बताए । जेनजी आन्दोलनको नेतृत्वकर्ता समेत नभएको भन्दै उनले सरकारले वार्ता संवाद गर्ने अवसर नै नपाएको दाबी गरे ।

उनले सामाजिक सञ्जाल नियमनको विषयमा भने तत्कालिन सरकार चुकेको बताए । नवयुवाको सूचना प्रविधिमा भएको लगाव र सरकारको नियमनसम्बन्धी तालमेल नमिलेको स्वीकार गरे । सोही कमजोरीको लाभ गलत तत्वले उठाएको उनको भनाइ छ । 

उनले भने, “हाम्रा युवाहरु सुचना प्रविधिमा यति ज्यादा लत बसिसकेको अवस्था रहेछ की उनीहरु सुचना प्रविधि विना बरु भात छोड्न सक्ने, परिवार छोड्न सक्ने तर मोवाईल छाड्न नसक्ने तहमा भएका युवाहरुलाई गतल तत्वहरुले भड्काउने कुरामा सफलता हासिल गरे । सरकारको तर्फबाट भएको कमी के हो भने हाम्रा युवाहरुको सूचनाप्रविधिप्रतिको लगाव, आशक्ति लत कुन तहमा छ भन्ने उसले बुझ्न नसक्दा त्यसलाई गतल तत्वहरुले प्रयोग गर्न पाए ।”

पुँजीवादी शक्तिहरुले युवाहरुलाई लागुऔषध र प्रविधिको लतमा फसाएर आफ्नो स्वार्थमा प्रयोग गर्दै आएको उनले दाबी गरे ।