चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रङ्क लाइनको विद्युत महसुल बक्यौताको पहिलो किस्ता, लाइन जोडियो


काठमाडौँ । डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेको रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिरेका छन् ।

भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टील इन्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार बक्यौताको पहिलो किस्ता तिरेका हुन् ।

पहिलो किस्ता तिरेपछि उद्योगहरूको विच्छेद गरिएको विद्युत लाइन जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन् ।

पञ्चकन्या प्लाष्टिकको २४ लाख ६३ हजार, पञ्जकन्या स्टीलको ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको १ करोड ८३ लाख र श्याम प्लास्टिकको ४९ लाख १० हजार रुपैर्या बक्यौता रहेको छ ।

बक्यौतालाई २८ किस्तामा विभाजन गरी उद्योगहरूले पहिलो किस्ता तिरेका छन् । यद्यपी बक्यौदा विवाद भने कायमै छ । उद्योगिहरूले प्रमाण नभएको बिलको रकम नतिर्ने बताउँदै आएका छन् ।

विवाद बढ्दै गएपछि प्राधिकरणले तिहारको समयमा २५ उद्योगको लाइन काटेको थियो । लाइन काटिएका मध्ये ४ उद्योगले पहिलो किस्ताको रकम तिरेर बिजुली आपूर्ति सरु गरेका छन् ।