काठमाडौँ । अब काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट प्रयोग गर्न सकिने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र, विमानस्थल लगायत संवेदनशील र सार्वजनिक स्थानहरूमा निःशुल्क इन्टरनेट सेवा विस्तार गरिएको हो।
मन्त्रालयका अनुसार, यसअघि नै वाइफाइ सेवा उपलब्ध रहेका ठाउँहरूमा मर्मत, गुणस्तर वृद्धि र क्षमता विस्तार गरिएको छ भने तीन निर्माणाधीनसहित आठ स्थानमा नयाँ वाइफाइ जडान गरिएको छ।
अब काठमाडौँको नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नयाँ स्थापनासहित वाइफाइ सेवा उपलब्ध हुनेछ।
त्यस्तै, ठूलोभ¥याङ यातायात व्यवस्था कार्यालय र ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा क्षमता अभिवृद्धिको काम भइरहेको छ भने भक्तपुरको राधेराधे यातायात कार्यालयमा नयाँ जडानको तयारी भइरहेको छ।
सेवाको निरन्तरता र दिगोपनाका लागि सम्बन्धित संस्थाहरूले सेवाप्रदायक कम्पनीहरूसँग सम्झौता गरिसकेका छन्। नेपाल टेलिकम, वर्ल्डलिङ्क र भायनेट कम्पनीले संयुक्त रूपमा निःशुल्क वाइफाइ इन्टरनेट स्थापनाका लागि सहकार्य गरिरहेका छन्।
सञ्चारमन्त्री खरेलको सक्रियतामा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सेवाप्रदायक कम्पनीहरूसँगको समन्वयमा वाइफाइको पहुँच विस्तार गरेको हो।
प्राधिकरणका अनुसार, यसअघि वीर अस्पताल, प्रसूति गृह, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, कान्ति बाल अस्पताल, सिभिल अस्पताल, ट्रमा सेन्टर, पाटन अस्पताल, हृदय केन्द्र, माथेमा उपचार केन्द्र र पशुपति मन्दिर परिसरमा उपलब्ध वाइफाइको गति १० एमबिपिएसबाट बढाएर १५० एमबिपिएस बनाइएको छ। त्यस्तै, प्रयोगकर्ताका लागि उपलब्ध डाटा १०० एमबीबाट बढाएर ५०० एमबी गरिएको छ।
नेपाल टेलिकमले काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका ३५ विमानस्थलमा निःशुल्क वाइफाइ सेवा विस्तार गर्ने योजना पनि अघि सारेको छ। भक्तपुर क्यान्सर अस्पतालमा ६ र कीर्तिपुर अस्पतालमा ५ एक्सेस प्वाइन्ट जडान गरेर सेवा सुरु गरिएको मन्त्रालयले जनाएको छ।
गत असोज ६ गते मन्त्री नियुक्त भएपछि मन्त्री खरेलले पहिलो निर्णयका रूपमा दुई महिनाभित्र उपत्यकाका प्रमुख सार्वजनिक स्थानमा निःशुल्क वाइफाइको पहुँच पुर्याउने प्रतिबद्धता जनाएका थिए। मन्त्रालयका अनुसार, अब उपत्यकाबाहेकका १० प्रमुख सहरमा पनि वाइफाइ विस्तारको तयारी भइरहेको छ।
यसैबीच, निःशुल्क वाइफाइ इन्टरनेट सेवा सञ्चालनको अनुगमनका लागि सञ्चारमन्त्री खरेल नेतृत्वको टोली आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म नयाँ बसपार्क, त्रिवि शिक्षण अस्पताल, पशुपति क्षेत्र र त्रिभुवन विमानस्थल भ्रमणमा जाने कार्यक्रम छ।




प्रतिक्रिया दिनुहोस्