जेन–जी विद्रोहले भ्रष्टाचार, नातावाद र कृपावादलाई खारेज गर्‍योः नेता परियार


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले जेन–जी विद्रोहले भ्रष्टाचार, कुशासन, नातावाद र कृपावादलाई खारेज गरेको भन्दै मुलुकमा सुशासन कायम गर्ने चुनौती राजनीतिक दलहरुका सामु रहेको बताएका छन् । 

बुधबार ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा उनले अमुख जाति, भाषा र संस्कृतिको मानिसले मात्र राज्यसत्ताको नेतृत्व गर्ने कुरा जेन–जी विद्रोहले खारेज गरिदिएको पनि बताए ।

उनले समाजलाई थप लोकतान्त्रिक, प्रगतिशील र अग्रगामी बाटोतर्फ लैजाने कुरामा राजनीतिक दलहरु थप चनाखो हुनुपर्नेमा जोड दिएका छन् ।

राज्य संरचनामा एउटै जाति र समुदायको नेतृत्वको तथ्यांक नै मुलुकको विकासका निम्ति गम्भीर समस्याको रुपमा रहेको उनकाे धारणा छ । जेन–जी विद्रोहले उठाएका एजेण्डाहरुलाई आत्मसाथ गरेर अघि बढ्ने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिबद्ध रहेको उनले बताए ।

उनले पार्टीमा रहेका समस्याहरुको समाधान खोज्दै पार्टीलाई जेन–जी आन्दोलनको मर्मअनुसार अगाडि बढाउने कुरामा पार्टी गम्भीर बहस र छलफलमा रहेको पनि बताएका छन् ।