नेपाल स्काउटको निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै कार्यलयमा धर्ना


काठमाडाैँ । नेपाल स्काउट शुद्धिकरण अभियान समितिले नेपाल स्काउटको निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै कार्यलय परिसरमा धर्ना दिएको छ ।

समितिले शनिवार कार्यलयमा धर्ना दिएको हो । स्काउटको निर्देशक नियुक्तिको लागि शनिवार सर्टलिस्टमा परेकाहरूलाई अन्तर्वार्ताको लागि बोलाइएको थियो ।

कार्यालयभित्र अन्तर्वार्ता चलिरहँदा बाहिर समितिले धर्ना दिएको हो । धर्नामा प्रहरीसँग धकलाधकेल समेत भएको थियो । नेपाल स्काउट शुद्धिकरण समितको संयोजक देवदुत अधिकारीले निर्देशक पदको लागि गरिएको भ्याकेन्सी आह्वान नै गलत भएको बताए ।

बहालवाला निर्देशक हुँदाहुँदै नयाँ निर्देशकको लागि भ्याकेन्सी आह्वान गरिएको उनको भनाई छ । अधिकारीले प्रमुख आयुक्तको विषयमा समेत अदालतमा मुद्दा विचराधिन रहेको अवस्थामा निर्देशक नियुक्त गर्न नमिल्ने बताए ।

निर्वाचित भएको प्रमुख आयुक्तलाई निःवर्तमान युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले निलम्बन गरेर चौधरीको नाईटेङ्गल स्कुलमा स्काउट पढाउने शिक्षक देवराज घिमिरेलाई टिका लगाएर आयुक्त बनाएको उनको आरोप छ ।

उनले भने,“निर्देशक पदको लागि भ्याकेन्सी आह्वान गरिएको थियो । जुन निर्देशक पदमा बहालवाला निर्देशक हुँदाहुँदै भ्याकेन्सी आह्वान गरेर आज यहाँ ईन्टरभ्युको लागी बोलाइरहेको छ । यो हामीले मान्यता हुँदैन भनेर भनिरहेका छौँ । अर्को के त भने निर्वाचित भएको प्रमुख आयुक्तलाई यो भन्दा अगाडीको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले निलम्बन गरेर तेजुलाल चौधरीको नाईटेङ्गल स्कुलमा स्काउट पढाउने शिक्षक देवराज घिमिरेलाई टिका लगाएर यहाँको आयुक्त बनाएको छ ।”

संयोजक अधिकारीले स्काउटभित्र भएका विकृति, विसंगति र भ्रष्टाचारलाई अन्त्य गर्नको छानविन समितिले बनाएको प्रतिवेदन सार्वजानिक गर्नुपर्ने बताए । प्रतिवेदनको आधारमा दोषीलाई कारबाही गर्नुपर्ने उनको माग छ ।

स्काउटका निःवर्तमान प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले नेपाल स्काउटको सर्वोच्च निकाय राष्ट्रिय परिषद्को बैठकले आफूलाई प्रमुख आयुक्त पदमा निर्वाचन गरेपनि तत्कालिन मन्त्री तेजुलाल चौधरीले एक वर्ष नपुग्दै हटाएको बताए ।

कानुनी प्रक्रिया नपुपुर्‍याई आफूलाई हटाएर देवराज घिमिरेलाई प्रमुख आयुक्त बनाएपछि आफूले सर्वोच्चमा मुद्दा हालेको उनले जानकारी दिए ।

हाल अदालतमा उक्त मुद्दा चलिरहेको अवस्थामा निर्देशक भ्याकेन्सी निकालेर नयाँ नियुक्त गर्न नमिल्ने उनको जिकिर छ ।