धितोपत्र बोर्डद्वारा कर्मचारीहरूको माग सम्बोधनका लागि कमिटी गठन,तीनदिनमा प्रतिवेदन पेश गर्ने


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आन्दोलनरत कर्मचारीहरूको माग सम्बोधनका लागि कमिटी गठन गरेको छ ।

आज बेलुकी बसेको बोर्ड सञ्चालक समितिको बैठकले कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराईको संयोजकत्वमा कमिटी गठन गरेको हो ।

बिहान अर्थ मन्त्रालयमा मन्त्रालयका अधिकारी र बोर्डका आन्दोलनरत कर्मचारीबिच भएको सहमति अनुसार कमिटी गठन भएको छ ।

कमिटीमा बोर्डका सिए आनन्दराज वाग्ले र कार्यकारी निर्देशक विनयदेव आचार्य सदस्य रहेका छन् ।

बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले भने,“आज कमिटी गठन भएको छ । कमिटीले तीन दिनभित्र अध्ययन गरेर प्रतिवेदन पेश गर्ने छ अनि यसका आधारमा अर्थ मन्त्रालयलाई अनुरोध गर्छौँ ।”

अर्थ मन्त्रालयले गत असोज २ गते पत्र पठाउँदै नेपाल धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि ( २०७१ ) र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि ( २०७५) खारेजीको जानकारी गराएको थियो ।

कार्यविधि खारेजीसँगै बिगतमा लिएको रकमसमेत कर्मचारीको तर्फबाट असुलउपर गर्न भनिएको थियो । यसपछि गत असोज ७ गतेदेखि कर्मचारी आन्दोलनमा थिए । गठित कमिटीले अर्थ मन्त्रालयको पत्रबारे पुनरावलोकन गरेर सुझाव पेश गर्ने छ ।

कर्मचारीहरूले काममा फर्कने तर एक घण्टे धर्ना भने कार्यमै राख्ने बताएका छन् ।

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड करिब ५० दिनदेखि कर्मचारी आन्दोलनका कारण प्रभावकारी रूपमा काम गर्न नसक्दा पूँजी बजारका सम्पूर्ण प्रक्रिया ठप्पजस्तै बनेका छन् ।

बोर्डका नियमित कार्यहरू आईपीओ निष्कासन अनुमति, हकप्रद सेयर स्वीकृति, म्युचुअल फन्ड नवीकरण, ब्रोकरेज अनुमति तथा नियामक निरीक्षण लगायत सबै काम रोकिएका छन् ।

आन्दोलनका कारण लगानीकर्ता, इस्यू म्यानेजर र वित्तीय संस्थाहरूसमेत प्रभावित बनेका छन् । सोमबारदेखि कर्मचारी कममा फर्केपछि रोकिएका काम सुरु हुने छन् ।